Logo

हामीले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छैनौंः एमाले नेता आचार्य



काठमाडौं, ११ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यले आफूहरुले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा नमागेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले एक सय किलो सुन तस्करीलाई निश्पक्ष छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गरेको बताए ।

उक्त समितिलाई छानविनमा सहयोग पुर्याउन अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा राजीनाामा दिँदा राम्रो हुने भएपनि एमालेले अहिले राजीनामा नमागेको उनको दाबी छ ।

‘गृहमन्त्रीको राजीनामा हामीले मागेका छैनौं । हाम्रो अहिलेको माग के हो भने उच्चस्तरीय छानविन समिति बनाइयोस् भन्ने हो । यत्रो काण्ड घट्यो, सरकार या त बेखबर छ, या योजनामा छ । जे भएपनि उच्चस्तरीय छानविन समितिले निष्पक्ष छानविन गरोस् भनेर केही समयको लागि भएपनि उहाँहरु पदबाट हट्न राम्रो हुन्छ । त्यो सल्लाह हो उहाँहरुलाई,’– उनले भने ।

उनले एक सय किलो तस्करीको सुन नियन्त्रणमा लिनुमा गृहमन्त्री र अर्थमन्त्रीको प्लनिङ नरहेको दाबी गरे । उनले गृहमन्त्री र अर्थमन्त्रीको उक्त घटनामा उच्चस्तरीय संलग्नता रहेको जनताले आशंका गरिरहेको उनको दाबी छ ।

‘अहिले समातिएको उहाँहरुको प्लानिङमा होईन् । अहिले समातिएको त समाचार हेरेर उहाँहरु छक्क पर्नुभयो । उहाँहरुको योजना, उहाँहरुको निर्देशनमा यो सुन समातिएकै होईन । यो अरु कुनैले सूचना दियो । सेटिङ नमिलेको कारण समातियो । समातिइसकेपछि उहाँहरु छक्क पर्नुभयो । हामीले गर्यौ भनेर हिँडिरहनु भएको छ । अहिले जनताले यी दुई जनाको उच्चस्तरको संलग्नता छ भन्ने आशंका छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्