Logo

राजनीतिक आडमा माफियाहरु सक्रिय छन्ः प्रकाश रायमाझी



काठमाडौं, १३ साउन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेपालमा अहिले राजनीतिक आडमा माफियाहरु सक्रिय भएको टिप्पणी गरेका छन् । विचौलिया र माफियाहरुले देशको शासन प्रणालीमाथि कब्जा जमाएको उनको आरोप छ ।

साथै, कर्मचारीहरूको स्वेच्छाचारी प्रवृत्तिले मुलुकमा अस्तब्यस्त बन्दै गएको उनको बुझाइ छ । कर्मचारी र राजनीतिक नेतृत्वको सेटिङमा अनेकौं तस्करीका धन्दाहरु मौलाईरहेको उनको आरोप छ ।

देशमा वैकल्पिक शक्ति र राष्ट्रवादीहरुको अभाव खड्किएको विश्लेषक रायमाझीको बुझाई छ । आफनै पौरख र मेहनतबाट देशलाई सम्वृद्ध बनाउँदै आएका नेपालीहरुलाई केही राजनीतिक दलहरुले आयातित मूल्यमान्यता भित्र्याएर दुःख दिएको उनले बताए ।

‘नयाँनयाँ आवरणमा विदेशी शक्तिका मतियारहरु चारैतिर टाउको उठाउन थालेका छन् ‌‌। प्रशासनिक अराजकता ,दण्डहिनताले जनताको बाँच्न पाउने नैसर्गिक अधिकार र सुरक्षाजस्ता संवेदनशील विषयमासमेत सरकार उदासिन भएको छ,’– उनले भने ।

राष्ट्रको महत्वपूर्ण सैनिक शक्तिलाई विस्थापित गर्ने, न्याय प्रणालीलाई ध्वस्त बनाउने कार्यमा राजनीतिका दलहरु उद्धत भएको उनको आरोप छ । सस्तो लोकप्रियता र विदेशीहरूको इसारामा नाच्नेहरुले देशको सार्वभौमसत्तामाथि नियोजित आक्रमण गरिरहेको उनले बताए ।

संसद् देश र जनताको प्रति उत्तरदायीभन्दा पनि दलीय संकीर्णता र व्यक्तिगत स्वार्थपूर्तिमा अभ्यस्त रहेको उनको आरोप छ । ‘संसद असफल हुँदै गैसकेको छ राष्ट्रिय सरोकार र जनताप्रति उत्तरदायीभन्दा दलीय संकीर्णता व्यक्तिगत स्वार्थपूर्ति गर्न‌ अभ्यस्त भएको छ। चर्को मूल्यवृद्धि तीन तहको स्वेच्छाचारी कर उठाउने धन्दाले बन्द व्यापार, स्वरोजगागारीमा आश्रितहरु हातमुख जोर्न नसक्ने अवस्थामा पुगिसकेका छन्‌। तर पनि यो निकम्मा सरकारको विकल्पमा अर्को शक्ति नदेखिनु‌ मुलुकका लागि दुर्भाग्य हो। आमनागरिकले आफ्नो हकअधिकारको लागि आ–आफ्नो क्षेत्रबाट क्रियाशील नहुने हो भने राज्य आतंक अझ व्यापक हुने देखिन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्