काठमाडौं, साउन १४ । नेकपा (माओवादी केन्द्र)को शनिबार बसेको पदाधिकारी बैठकमा पार्टीको आसन्न केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भनिए पनि त्यस विषयमा ठोस निर्णय गर्न नसकेपछि आज अपराह्न ३ बजे पुनः बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठक कसरी सञ्चालन गर्ने भन्नेबारे केही छलफल भए पनि बैठकका एजेन्डा भने तय हुन सकेन् ।
शनिबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष पम्फा भुषालले आफूले गरेको विदेश भ्रमणबारे जानकारी गराएका थिए । बैठकमा अध्यक्ष दाहालले कोशी प्रदेशको राजनीतिक अवस्थाबारे समेत ब्रिफिङ गरेका थिए । दाहालले शनिबार नेपाली कांग्रेसका पदाधिकारीहरुसँग भएको छलफल पदाधिकारी बैठकमा सुनाएका थिए ।
हिजो बसेको बैठकमा साउन १७ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डाहरु र कोशी प्रदेश सरकार गठनबारे छलफल भएको छ ।
पदाधिकारी बैठकमा महासचिव देव गुरुङ नेतृत्वको टिमले तयार गरेको समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको छ । यही प्रस्तावलाई समेटेर अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिको बैठकका लागि प्रतिवेदन तयार गर्नेछन् । केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि काठमाडौंको प्रज्ञा भवनमा बस्दै छ । १७ गतेअघि स्थायी समिति बैठक बस्नेछ ।