काठमाडौं, १४ साउन । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले अनिश्चित्कालीन रौतहट बन्दको कार्यक्रम तत्काललाई स्थगन् गरेको छ । तर, समितिले धर्ना कार्यक्रमलाई भने यथावत राख्ने निर्णय गरेको छ । सत्ताधारी पार्टीको कभरमा अपराधीद्धारा निर्माण गरिएको मुठभेडको अस्वभाविक अवस्थालाई ध्यानमा राखी आफूहरुको संघर्षको कार्यक्रमलाई परिमार्जन गरेको संघर्ष समितिका संयोजक रुपसागर देवी उपाध्यायले जनाएका छन् ।
आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रि न्यौपानेको उपस्थितिमा अहिले भर्खरै रौतहटको चपुरमा सम्पन्न समितिको आकस्मिक बैठकले संघर्षको कार्यक्रममा परिमार्जन गरेको हो । समितिले विभत्स गौर हत्याकाण्डका पीडितहरुको लागि न्याय माग्दै साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
आफूहरुको ज्ञापनपत्रलाई सरकारले गम्भीरतापूर्वक लिई सुनुवाई र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा सरकारी पार्टीको नाममा उल्टै पीडितहरुलाई धम्काउने, डराउने र अपराधीलाई बचाउने खेलमा लागेको समितिको आरोप छ ।
विज्ञप्तीमा भनिएको छ,“विगत १७ वर्षदेखि न्याय माग्दापनि न्याय नपाएको कारण हामीहरु लगातार राज्यका विभिन्न निकायमा हारगुहार माग्दा न्याय नपाएपछि बाध्य भएर सडकमा आएका हौं । तर सत्ताधारी पार्टीहरु पीडितहरुलाई सडकमा पनि रुन नदिने स्थिति सिर्जना गरिरहेको छ । सत्ताको बलमा अपराधीलाई जोगाउँदै आएका राजनीतिक पार्टीहरु आज सडकमा मुठभेड खडा गर्न उद्धत रहेका छन् ।”
समितिले सत्ताधारी दलहरुले खुलेआम अर्को गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिइरहेको उल्लेख गर्दै आफूहरु भने संयमित बनेको जनाएको छ । अहिलेको २१ औं शताब्दीको कानूनी शासनको युगमा संरक्षणको जिम्मा लिएका सत्ताधारी पार्टीहरुले भय तथा आतंकको अवस्था निर्माण गर्नु दुःखद् भएको पनि समितिको ठहर छ । समितिले सत्ताधारी दलको गतिविधिलाई जंगलीराजको संज्ञा दिँदै भर्त्सना पनि गरेको छ । साथै, समितिले संघर्षलाई अझ दृढतापूर्वक अगाडि बढाउने संकल्प गरेको छ ।