Logo

संघीय सरकारले वीरगन्जलाई सौतेला व्यवहार गरेको छ : मेयर सिंह



काठमाडौं, १५ साउन । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफूले कुनै पनि अनियमितता गरेको भए जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
‘मैले अरुको कुरा होइन, वीरगन्जबासीको कुरा सुन्ने हो । अहिले मेरो नातेदार वा परिवारको नाम जोडेर जुन डिप बोरिङको प्रचार गरिएको छ, त्यसमा कुनै सत्यता छैन । यो वीरगन्जको विकास विरोधी विपक्षीको काम हो । म खुला चुनौती दिन्छु, त्यसमा मैले कुनै अनियमितता गरेको भए वा ऐन कानुन मिचेको भए म सजाय भागी हुन तयार छु । राजनीतिक जीवनबाट सन्न्यास लिन पनि तयार छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
मेयर सिंहले आफूले वीरगन्जको गुरुयोजना बनाएर काम गरेको दाबी पनि गरे । उनले भने, ‘म आफ्नो आफैं बखान गर्दिनँ । तपाईं वीरगन्ज आएर हेर्नुस्, नगरबासीलाई सोध्नुस् । सुनेको भरमा होइन, हेरेर टिप्पणी गर्नुपर्छ । मैले कार्यभार सम्हालेको १४ महिना ३ दिन भयो । शिक्षा, स्वास्थ्य, पर्यटन विकास निर्माण, सडक, सौन्दर्यीकरण आदि थुप्रै कामको थालनी गरेको छु ।’
आफूलाई जनताको कामसँग मात्र मतलब भएको पनि सिंहले बताए । उनले थपे, ‘मलाई सेलिब्रिटी मेयर बन्नु छैन । म हाम्रो वीरगन्ज, राम्रो वीरगन्ज बनाउने अभियानमा छु । प्रदेशमा मेरो पार्टीको सरकार भएकाले उसैको सहयोगमा काम गर्दैछु । संघतिर पनि दौडिरहेकै छु ।’ वीरगन्ज महानगरको सबै ठेक्का इ-बिडिङको माध्यमबाट हुने भएकाले कुनै व्यापारीको नाम जोड्नु आवश्यक नरहेको पनि उनको तर्क छ ।
संघीय सरकारले वीरगन्जलाई सौतेला व्यवहार गरिरहेको आरोप पनि उनले लगाए । मेयर सिंहले भने, ‘भन्न त वीरगन्जलाई आर्थिक नगरी भनिन्छ । तर संघले वीरगन्जलाई सौतेला व्यवहार गरेको छ । हाम्रो आन्तरिक स्रोत कम छ । संघबाट आउने सहयोग साह्रै न्यून छ । वीरगन्ज र काठमाडौं दुवैमा ३२ वडा छन् । काठमाडौं जम्मा ५० वर्ग किलोमिटर क्षेत्रफलमा छ, वीरगन्ज १३१ वर्गकिलोमिटरमा फैलिएको छ । तर, काठमाडौंको कुल बजेट २५५० करोड छ भने वीरगन्जको जम्मा ३२१ करोड मात्र छ । अनि हामीलाई काठमाडौँसँग तुलना गरेर हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्