Logo

सेनाको जहाज २४सै घण्टा सञ्चालन गर्न सक्ने अवस्थामा राख्न मन्त्री खड्काको निर्देशन 



काठमाडौं, १५ साउन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन् ।  नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयरबेसको निरीक्षण गर्दै उनले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताए ।
उनले यसको सेवालाई अझै बढी विश्वसनीय बनाई जनसेवामा समर्पित गर्ने दिशामा बढी ध्यान दिन पनि आग्रह गरे ।  अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले यसको सधैँ उच्च मूल्याङ्कन गरिरहेको बताए ।
उपप्रधानमन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक विपद् तथा उद्धारका काममा रातदिन खटेर काम गरेकोमा नेपाली जनताले सधैँ सम्मान गर्ने बताए ।
नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको उनको भनाइ थियो ।
“तपाईंहरू एकातिर सैनिक र अर्कोतिर हवाई अनुशासनमा बस्ने पेशामा हुनुहुन्छ, तपाईंहरूको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस्,”– मन्त्री खड्काले भने ।



प्रतिक्रिया दिनुहोस्