Logo

‘उच्चस्तरीय छानबिन समिति निहुँ खोज्ने कुरा मात्र हो, छानबिनमाथि छानबिन किन चाहियो ?’



काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टीका नेताहरु सुन तस्करीमा नजोडिएको बताएका छन् ।
‘हाम्रो पार्टीका नेताहरु अनुसन्धानमा जोडिनुभएको होइन । त्यसमा जोडिएका व्यक्तिहरुसँगका फोटो आएका हुन् । त्यसरी फोटो मात्र जोडेर प्रचार गर्नु सही होइन । यसबारे सम्बन्धित व्यक्तिहरुले प्रस्ट पारिसक्नुभएको छ । त्यसैले यसलाई पार्टी विशेषभन्दा जोडेर हेर्न मिल्दैन । सुन तस्करीमा जुनसुकै पार्टीका नेता जोडिएका हुन्, त्यसमा बाधा विरोध र व्यवधान छैन, आग्रह पूर्वाग्रह राख्नु पनि हुन्न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति गठनको माग निहुँ खोज्ने कुरा मात्र भएको आरोप पनि उनले लगाए । पौडेलले भने, ‘छानबिनमाथि छानबिन किन चाहियो ? राज्यको निकायले बनाएको समिति निष्कर्षमा नपुगे अर्को बनाउने कुरा हो । अहिले जरुरी छैन ।’
अर्को प्रसंगमा माओवादी नेता पौडेलले मुलुकको आर्थिक अवस्था जटिल बनेका बेला कोसी प्रदेशमा मध्यावधि चुनावमा होमिनु नहुने बताए । उनले भने, ‘अदालतको फैसला हामी पालना गर्छौं । अब कसरी अघि बढ्ने भन्ने विभिन्न पक्षमा छलफल गरिरहेका छौं । हामी सकेसम्म मध्यावधिमा नजाने गरी विकल्प दिन्छौं ।’ कोसीको सरकारको निकास दिनु प्रधानमन्त्रीको जिम्मेवारी भएको पनि उनले औंल्याए ।
पार्टीको केन्द्रीय समितिको बैठकपछि सरकारको कामको समीक्षा, विधान सम्मेलन, समाजवाद उन्मुख राज्य प्रणालीमा पार्टीको भूमिका, कार्यक्रम र कार्यविभाजन गरेर अघि बढ्ने पनि उनले बताए । पौडेलले भने, ‘नेता पुरानो र नयाँभन्दा पनि सक्रियता महत्त्वपूर्ण हो । पदमात्र ओगट्ने, फिल्डमा गएर काम नगर्ने नेताहरुलाई ठेगान लगाउने काम विधान सम्मेलनबाट हुन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्