काठमाडौं, १६ साउन । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्यारक्याल लामालाई नियुक्त गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि लामालाई नियुक्त गर्दा राम्रो सन्देश जाने धारणा राखेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गर्नेगरि तयारी थालेका छन् ।
आज (मंगलबार) अपरान्ह बस्ने मन्त्रिपरिषद्को बैठकमा लामाको नाम प्रस्ताव गरिने तयारी रहेको उच्च स्रोतको दाबी छ । यसअघि मन्त्री किरातीले भने कोषको उपाध्यक्षमा गायिकासमेत रहेकी आनी छोईङ डोल्मालाई नियुक्त गर्ने तयारी गरेका थिए । किरातीले आनीसँग पनि भेटवार्ता गरेको तस्विर राखेका थिए ।
कोषको उपाध्यक्षको दौडमा रहेकी आनीसँगको भेटबारे मन्त्रीले नै तस्विर सार्वजनिक गरेपछि केही आलोचना पनि भएको थियो । तर, प्रधानमन्त्री दाहालले कोषको उपाध्यक्षमा लामालाई नियुक्त गर्न निर्देशन दिएपछि मन्त्री किरातीपनि आनीलाई नियुक्त गर्ने तयारीबाट ब्याक भएका हुन् । प्रधानमन्त्री दाहालले डा. ल्यारक्याल लामालाई नियुक्त गर्दा बौद्ध धर्मालम्बीहरुमा राम्रो सन्देश जाने र लामा पार्टीको पनि मान्छे भएकोले उनैलाई नियुक्त गर्दा राम्रो हुने कुरा मन्त्री किरातीलाई बताएका थिए ।
लामा दुईपटक संविधानसभा सदस्य भैसकेको र आठ वर्ष गुम्बा व्यवस्थापनको अध्यक्ष भएको कारणले पनि उनलाई नै उपाध्यक्ष बनाईनुपर्ने आवाज उठेको छ। बौद्धमार्गीहरुले कोषको उपाध्यक्ष बनाउनको लागि लामा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उपयुक्त व्यक्ति भएको बताउन थालेका छन् ।
उनीहरुले लामाले नै लुम्बिनीलाई अन्तर्राष्ट्रिय परिचय दिनसक्ने व्यक्तिको रुपमा पनि चित्रण गरेका छन् । लामा अनुभवी व्यक्तित्व भएको र अन्तर्राष्ट्रियस्तरको सम्बन्ध पनि भएको कारणले उनलाई कोषको उपाध्यक्ष बनाउन राम्रो हुने बताईएको छ ।
कोषको अध्यक्ष भने पर्यटनमन्त्री रहने व्यवस्था छ । कोषको उपाध्यक्षको कार्यकाल भने पाँच वर्षको हुनेछ । कोषको उपाध्यक्षको दौडमा अहिलेका उपाध्यक्ष भिक्षु मैत्रये (अवधेश त्रिपाठी) देखि गायिका आनी छोईङ् डोल्मा र ल्यारक्याल लामा रहेका छन् ।