काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज शेर्पालीले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउन नहुने बताएका छन् । छानविन समिति बने राजनीतिक हस्तक्षेप हुने र राजश्व अनुसन्धान विभाग र प्रहरीको अनुसन्धान प्रभावित हुने उनको भनाई छ ।
सबै दलले सरकारको भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन आवश्यक रहेको उनले बताएका छन् । अनुसन्धान प्राभवित पार्न हुने सबैखाले चलखेल रोक्न हदैसम्मको कदम चाल्न सरकार चुक्न नहुने उनको भनाई छ ।
‘सुन तस्करी काण्डमा राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरीको सिआइबीको अनुसन्धानलाई प्रभावित हुने र राजनीतिक हस्तक्षेप हुनेगरि कुनै पनि नामको छानविन समिति बनाउन हुँदैन । बरु सबै राजनीतिक दल र आम नागरिकले भ्रष्टाचार विरुद्धको सरकारको अभियानलाई निस्वार्थ साथ दिनुपर्छ,’– शेर्पालीले सामाजिक सञ्जालमा भनेका छन् ।