Logo

राजनीतिक विश्लेषक आचार्यको दाबी, ‘कांग्रेसको वैशाखी नटेकेको भए माओवादीले पाँच सिटमात्रै जित्थ्यो’



काठमाडौं, १८ साउन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) ले पार्टीको आकार लिनका लागि १० वर्ष सत्ताभन्दा बाहिर रहेर जनताको बीचमा मेहनत गर्न आवश्यक रहेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीले रोल्पा, रुकुम, गोर्खा हुँदै सिंगो देशलाई नै विर्सिएकाले सबैभन्दा छिटो पतन भएको बताएका हुन् ।

‘प्रचण्डको पार्टीले पार्टीको रुपमा आकार लिनका लागि अब १० वर्ष सत्ताभन्दा बाहिर बसेर जनताको बीचमा मेहनत गर्नुपर्छ । माओवादीले रोल्पा, रुकुम, गोर्खा र देश विर्सिए । यो पार्टीजत्तिको पतन भएको अर्को पार्टी नै छैन । ३२ लाख भोट भएको यो पार्टी अहिले १२ लाखको भोटमा राजनीति गर्दैछ । यसका टप लेभलका नेताहरु अन्तराष्ट्रिय स्तरका भ्रष्टाचारमा पर्दैछन्,’– उनले भने ।

माओवादी पार्टीका नेताहरुको सन्तानका चरित्र एकदमै नराम्रो रहेको उनको टिप्पणी छ । प्रचण्डले पार्टी पुनर्निर्माण गर्ने हो भने बन्दुक बोकेर नभई कमाण्डलु बोकेर देश बुझ्न जरुरी रहेको उनले बताए । ‘मलाई के लाग्छ भने प्रचण्डजीले फेरि यो पार्टीलाई रिभाइब गर्ने हो भने अब बन्दुक बोकेर होईन, कमण्डलु लिएर उहाँले यो देश एक पटक बुझ्ने प्रयास गर्नुपर्छ,’– उनले भने ।

माओवादीले पनतको बाटो रोजेको उनको टिप्पणी छ । उनले गत निर्वाचनमा कांग्रेससँग गठबन्धन नभएको भए माओवादीले जम्मा पाँच सिटभन्दा बढी जित्नै नसक्नेसमेत दाबी गरे । सत्तामा बसेरमा बसेर माओवादी निर्माण नहुने उनको भनाई छ ।

‘उहाँको पार्टी समाप्त हुँदैछ । ०७९ कै चुनावमा नेपाली कांग्रेको वैशाखी नपाएको भए यसले पाँच सिटभन्दा बढी जित्दैन थियो । कांग्रेसले माओवादीलाई नबोकेको भए राष्ट्रिय स्वतन्त्र पार्टी तीन नम्बरको पार्टी हुन्थ्यो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्