काठमाडौं, १९ साउन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । जनमत पार्टी सरकारमा सहभागी हुने तयारीमा रहेको थियो । जेठ १५ गते बजेट आएलगत्तै सरकारमा जाने तयारीमा रहेको जनमतले हालै बसेको केन्द्रीय समितिको बैठकमार्फत प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गराएको हो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि सुरुदेखि नै साथ दिँदै आएका राउतले यसअघि पार्टीका उपाध्यक्ष अब्दुल खाँनलाई सरकारमा पठाएका थिए । खाँन खानेपानी तथा सरसफाईमन्त्री बनेका थिए । तर, पछि जनमतले आफूहरुलाई भनेको मन्त्रालय नदिईएको भन्दै खाँनलाई सरकारबाट फिर्ता बोलाएको थियो । यो बीचमा प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष राउतसँग निरन्तर छलफल गरेका छन् ।
प्रधानमन्त्री दाहालले पार्टीको केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । सरकारमा सहभागी हुने भनेर लामो समयसम्म सहभागी नहुँदापनि राउतले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्नुले उनको प्रचण्डसँगको सुमधुर सम्बन्ध झल्काउँछ ।
कतिपयले त पहिला पहिला प्रचण्डले आफ्नो मधेशसँग डिप लभ परेको भन्ने गरेपनि अहिले भने राउतको प्रचण्डसँड डिप लभ परेको भनेर टिप्पणी गर्न थालेका छन् । राउतले सार्वजनिक रुपमै आफूलाई नेपालका समकालिन नेताहरुमा सबैभन्दा मनपर्ने नेता प्रचण्ड भएको बताउँदै आएका छन् । राउतको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन– ८४’ अगाडि बढाउने निर्णय गरेको छ। File Photo