काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । अधिकांशले सरकारको कामको प्रशंसा गरेका छन् । तर, अध्यक्ष पुष्पकमल दाहालबाहेक अन्य पदाधिकारीले भने प्रभावकारी ढंगले काम नगरेको उनीहरुको आरोप छ ।
प्रचण्डपछि नेतृत्वमा दाबी गर्नेहरुबाट नै पार्टीभित्र गुट तथा उपगुट सिर्जना गरिएको र एकले अर्को समूहलाई निषेध गरिएकोमा पनि उनीहरुको आपत्ति थियो । बैठकको सुरुवातकै दिनमा अध्यक्ष प्रचण्डले माओवादी पार्टी धेरै नै बिग्रिएको टिप्पणी गरेका थिए । तर, बैठकको तेस्रो दिन प्रचण्ड स्वयमले भने बिग्रिएपनि अब पार्टीलाई सुधार गरेर जाने दिशामा बैठक अघि बढेको प्रष्टीकरण दिए ।
भोलिसम्म चल्ने भनिएको बैठक अझै एक दुई दिन लम्बिने बताईएको छ । नेताहरुले बोल्नै बाँकी रहेको छ । अहिले माओवादीको नेतृत्वमा सरकार छ । सरकारको नेतृत्व अध्यक्ष प्रचण्डले गरेको र भ्रष्टाचारविरुद्धको अभियानमा सरकार आक्रामक रुपमा प्रस्तुत भएकोमा जनस्तरमा राम्रो सन्देश गएको नेताहरुको भनाई छ ।
तर, पदाधिकारीमा रहेका नेताहरुले भने आफ्नो व्यक्तिगत स्वार्थमात्रै हेरेकोले भनेजसरी सरकारको कामले जनस्तरसम्म चर्चा नपाएको उनीहरुको गुनासो छ। आज बोलेका उपमहासचिव वर्षमान पुनले सरकार सही दिशामा अघि बढेकोले अब माओवादीलाई सही दिशामा लैजान सकिने र बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।
अर्का उपमहासचिव जनार्दन शर्माले भने आफ्नो असन्तुष्टि व्यक्त गरेको एक नेताले जानकारी दिए । पदाधिकारीमै रहेका उपाध्यक्ष मात्रिका यादव र उपमहासचिव गिरिराजमणि पोखरेलको कारण मधेशमा माओवादी ध्वस्त भएको मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको गुनासो थियो ।
नेता रामकुमार शर्माले त यादव र पोखरेलको व्यक्तिगत टकरावकै कारण मधेशमा माओवादी समाप्त हुन लागेको आरोप लगाएका थिए । अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा र अरु पदाधिकारीको भने आलोचना गरेका थिए ।