काठमाडौं, साउन २२ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै, संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
बाधा अड्काऊ फुकाऊ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।
आजको बैठकमा शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।
सुन तस्करी प्रकरणलाई लिएर साउन १० गतेदेखि अवरुद्व बैठक सञ्चालन गर्न सभामुख देवराज घिमिरेले दिउँसो १२ बजे शीर्ष दलका नेताहरूसँग छलफल गर्दैछन् ।