Logo

माधव नेपालमाथि छानबिन गर्दा कुनै आपत्ति छैन : पार्टी प्रवक्ता



काठमाडौं, २२ साउन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले ललिता निवास प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि छानबिन गर्ने बाटो खोलिनुलाई सामान्य रुपमा लिएको बताएका छन् ।
‘कसैले मुद्दा हाल्यो भने अदालतले केही न केही बोल्नैपर्छ, बोल्यो । यो कुनै अनौठो विषय होइन । अत्तालिने विषय पनि होइन । चिन्तित हुनुपर्ने विषय पनि होइन । कसैमाथि प्रश्न उठेपछि सत्य, तथ्य र नियतको जाँच गर्ने कुरा स्वाभाविक हो । माधव नेपालले पनि बारम्बार आफूमाथि छानबिन वा अनुसन्धान गर्न जोड दिनुभएको छ । यसमा आपत्ति जनाउनुपर्ने कुरै छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
देशको प्रधानमन्त्रीलाई पनि सोधीखोजी गर्ने थिति बस्दा धेरैलाई सतर्क बनाउने पनि खतिवडाले बताए । उनले भने, ‘प्रधानमन्त्री पनि देशकै नागरिक हो । उसले पनि नियम कानुन मान्नुपर्छ । माधव नेपाललाई जस्तै देशका सबै प्रधानमन्त्रीको नीतिगत निर्णयबारे सोधीखोजी गर्ने बाटो पक्रेको छ । यसमा म व्यक्तिगत रुपमा खुसी छु ।’
माधव नेपालले कसैलाई लाभ दिने र राज्यको सम्पत्ति हिनामिना गर्ने नियतवश कुनै काम नगरेको जिकिर पनि खतिवडाले गरे । उनले भने, ‘त्यस्तो उद्देश्यले उहाँले कुनै नीतिगत निर्णय गर्नुभएको छैन । सोधीखोजी छानबिन गर्नु नै कारबाही होइन । अभियोग पुष्टि भए मात्र कारबाही हुने हो ।’ साथै उनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आजको आवश्यकता हो भन्ने महसुस नगरेको र सरकारले गरेको छानबिनलाई नै निरन्तरता दिनुपर्ने औंल्याए ।
तपाईंको पार्टीको सम्मानित नेता झलनाथ खनालले त पार्टी नेतृत्वप्रति असन्तुष्टि पोख्नुभएको छ नि भन्ने धमलाको प्रश्नमा खतिवडाले भने, ‘झलनाथ खनालले त्यस्तो असन्तुष्टि पोख्नुभएको छैन । हाम्रो पार्टीमा कुनै नकारात्मक बहस र भाँडभैलो छैन । कुनै विवाद छैन, कुनै तनाव छैन । महाधिवेशन नजिक आउँदै छ । पार्टीमा बहस नभए के हुन्छ ?’ पार्टीमा कोही आउनु, कोही जानु स्वाभाविक भएको पनि उनले बताए । खतिवडाले भने, ‘पार्टीमा आउने जाने क्रम बीसौं वर्षदेखि चलिरहेको छ । के कसैले एमाले, कांग्रेस छाडेर गएका छैनन् ?’



प्रतिक्रिया दिनुहोस्