काठमाडौं, २३ साउन । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।
आज (मंगलबार) सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिकोबैठकले श्रेष्ठविरुद्ध उजुरीका लागि १० दिनको समय सीमा दिएर सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सभ्य र मर्यादित भाषामा उनीविरुद्ध केही उजुरी भए दिन सकिने बताइएको छ ।
गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
हाल सर्वोच्चमा प्रधानन्यायाधीश रिक्त रहेको छ । तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनिवार्य अवकास पाएपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारी श्रेष्ठले नै सम्हालिरहेका छन् ।
समितिको जेष्ठ सदस्य पशुपति समशेर जबराले सार्वजनिक सूचना प्रकाशनका लागि समिति सचिवलाई निर्देशन दिइसकेका छन् ।