Logo

वनको नाममा खुलेका संघ/संस्थाले भनेअनुसार काम गरेको भए नेपाल उहिल्यै समृद्ध भैसक्दथ्यो : वनमन्त्री डा. महतो



काठमाडौं, २३ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सामूदायिक वनको अवधारणअनुसार वनलाई जोगाउने र यसलाई मुलुकको समृद्धिमा टेवा पुर्याउने माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् ।

सामूदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू-संरक्षण विभागले आज (मंगलबार) आयोजना गरेको “सामूदायिक वनको भविष्य र आगामी बाटो विषयक नीतिगत सम्वाद” कार्यक्रममा सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन् । यस वर्षको वन दिवसको नारा भने “उत्पादन, रोजगार र समृद्धिका लागि सामूदायिक वन व्यवस्थापन” दिईएको छ ।

मन्त्री महतोले सरकारले नै सामूदायिक वनको विकासमा जोड दिएको उल्लेख गरे उनले भने,“विश्वमै नेपालमा सामूदायिक वन सफल भएको र त्यसले राम्रो काम गरेको भनेर गर्व गर्न पाएका छौं । सामूदायिक वनमा रहनुभएका सबैलाई धन्यवाद दिन चाहन्छु । अब आउने चूनौति भनेको जुन हिसाबले सामूदायिक वनको अवधारणा आयो, त्यतिवेला वनलाई बचाउनुपर्छ । हरियो बनाउनुपर्छ । यो हाम्रो सम्पत्ति हो भनेर काम गरेका छौं । तर, पछिल्लो समय आउँदा वनबाट डेढ करोडले रोजगारी पाएको तथ्यांक पनि यहाँ साथीहरुले पेश गर्नुभयो । त्यो सही हो भने यो देश त समृद्ध भैसक्नुपर्ने थियो त । हामी त सिंगापुर नै बनिहाल्थ्यौं नि । किन हामी बेरोजगारीको कुरा गरिरहेका छौं । यदि रोजगारी नै पाएका छौं भने कस्तो किसिमको रोजगारी पाएका छौं ? यो विषय महत्वपूर्ण कुरा हो । हिजोको उद्देश्यअनुसार राम्रो काम भयो । अहिले कस्तो भयो भने पार्टीहरुको, कार्यकर्ताहरु, नेताको समूह भएर सामूदायिक वनको रक्षक भएको जस्तो, एउटा हिस्सामा बाँडिएको जस्तो भएको छ । यसमा सुधार गर्नुपर्छ ।”

मन्त्री महतोले आफूले वन मन्त्रालयको नेतृत्व सम्हालेको तीन महिना भएको उल्लेख गर्दै जंगललाई देखाएर धेरै संघ तथा संस्थाहरु रहेको आफूले पाएको सुनाए । उनले भने,“ती संस्थाहरु बास्तवमै समृद्धिको लागि काम गरिदिएको भए नेपाल कहाँबाट कहाँ पुगिसक्दथ्यो । नाम चाहीँ वनको बेच्ने अनि आफ्नो स्वार्थको लागि काम गर्ने । डोनेशन पाउने । तिनीहरुले आफ्नो कार्यकर्ता पाल्नेबाहेक अरु गरेको देखेको छैन् । वनलाई ४५ प्रतिशतमा ल्यायौं अब ४५ प्रतिशत वनलाई मुलुकको समृद्धिको बाटोमा यसलाई जोड्न सकेनौं भने, भोलि हामीमाथि पनि प्रश्न उठ्छ ।”

मन्त्री महतोले उपभोक्ताको नाममा वन काटेर बेच्ने गरेको कुरा आएकोमा आफ्नो ध्यानाकार्षण भएको बताए । उनले भने,“अब हामीले लगाएको वनलाई काटेर बेच्नेमात्रै होईन । एग्रो फोरेष्ट र टुरिजमको कुरा आएको छ । वनलाई वनकै रुपमा छोड्ने धारणालाई परिमार्जन गर्नुपर्छ । अहिले मानव र जंगली जनावरबीचको द्धन्द्धको व्यवस्थापनको चूनौति छ । अन्तर्राष्ट्रियस्तरमा हामी प्रतिबद्धता गर्छौं अनि पूरा पनि गर्छौं । तर, व्यवस्थापनमा चूनौति छ । अहिले बाँदर मानव बस्तीमा पसेका छन् । तीनले अन्नवालीको ठूलो क्षति गरेका छन्। यसको लागि रोकथामको लागि पनि काम गर्नुपर्छ । वनलाई अतिक्रमणमा गर्ने काम मान्छेले नै गरिरहेको भन्दै त्यस्तो गलत कार्य अब रोक्नुपर्छ ।”

वन क्षेत्रमा मानव बस्ती बनाउने काम भैरहेकोप्रति उनको आक्रोश छ । यसरी नै अतिक्रमण गरिने हो भने नेपालमा भोलि २५ प्रतिशत पनि वन नबच्ने उनको भनाई छ । उनले सही उद्देश्यले काम गरे सामूदायिक वनको राम्रो भविष्य रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्