Logo

उच्चस्तरीय समिति बनाएर सुन तस्करी प्रकरणलाई राजनीतीकरण गर्न हुँदैनः माधव सापकोटा



काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुवोध’ ले एक सय किलो सुन तस्करी प्रकरणमा सिआईबीको छानविनमा विश्वास गर्नु आवश्यक रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस अघि बनेका छानविन समितिले कुनै काम गर्न नसकेको बताए । उनले यस प्रकरणमा सिआईबीलाई निश्पक्ष भएर छानविन गर्न दिनुपर्ने र सिआईबीमाथि कसैले आशंका व्यक्त गर्न आवश्यक नरहेको बताए ।

‘सिआईबी हाम्रो पार्टीको भातृ संस्था पनि होईन । हामीले संवैधानिक रुपमा व्यवस्था गरेको इन्टिच्युसन हो । उहाँहरु विज्ञको रुपमा विकास भइसकेको जनशक्ति हो । त्यो क्षेत्रमा दक्षता हासिल गरेको जनशक्तिमाथि विश्वास नगर्नु भनेको राज्यको संयन्त्रमाथि विस्तारै अविश्वास बढाएर लैजानु हो । त्यसैले हामीले विश्वास गर्नेपर्छ,’– उनले भने ।

सुन तस्करी प्रकरणलाई छानविन समितिमा लगेको खण्डमा उक्त मुद्दा राजनीतिकरण हुने उनले बताए । उक्त मुद्दा राजनीतिकरण गर्नु देश र स्वयम् एमालेका लागि पनि घातक हुने उनले बताए ।

‘हामीले यसभन्दा अगाडिका अभ्यास पनि हेरौं न । समिति बनाउने भनेको चन्द्रमाबाट छु्टुटै धातुले बनेको मान्छे ल्याएर बनाउने त होईन । सेवा निवृत्त कर्मचारी र न्यायाधीशहरु नै ल्याउने हो ।’ उनले भने, ‘सेवा निवृत्त भएका न्यायाधीशहरुको संलग्नतामा भएका छानविन पनि हामीले हेरेका छौं । समितितिर बहसमा लानु भनेको नितान्त कानुनी कुरालाई राजनीतिकरण गर्नु हुन्छ । अहिले यो विषयलाई राजनीतिकरण गर्ने बेला भएको छैन । त्यसरी सोच्नु पनि राम्रो होईन । यो राजनीतिकरण गरेर राष्ट्रका लागि पनि फाइदा छैन । स्वयम् नेकपा (एमाले) का लागि पनि फाइदा छैन ।’

सुन तस्करी प्रकरणको अनुसन्धानको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को धारणा पहिला सिआईबीलाई निश्पक्ष छानविन गर्न दिनुपर्छ भन्ने रहेको उनले बताए ।

‘प्रधानमन्त्रीले भन्नु भएको छ भने ‘सिआईबीलाई छानविन गर्न दिउँ । उसले एउटा प्रतिवेदन पेश गरोस् । त्यो प्रतिवेदन उपर चित्त बुझेन भने त्यसउपर छानविन गरौंला’ भन्नुभएको छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्