काठमाडौं, २४ साउन । सरकारले गौर हत्याकाण्डबारे छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने भनेर पीडित संघर्ष समितिसँग ५ बुँदे सहमति गरेलगत्तै केन्द्रीय राजनीतिमा तरंग पैदा भएको छ । खासगरी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहालको गौर हत्याकाण्डको छानबिन अघि बढाउने सक्रियतालाई लिएर आक्रोशित बनेका छन् ।
उनले आजै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकसमेत बोलाएका छन् । सो बैठकले सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको पाँच बुँदे सहमतिबारे समिक्षा हुने बताईएको छ । यादवले प्रधानमन्त्री प्रचण्ड आजपाका अध्यक्ष प्रभु साहको प्रभावमा परेर आफूलाई फसाउन षड्यन्त्र गर्न लागेको त होईन ? भन्ने चासो राखेका छन् । यही सन्दर्भमा उनले आफूनिकट शीर्ष नेताहरुसँग अहिले भेटवार्ता गर्न लागेको बुझिएको छ ।
आजभन्दा १७ वर्षअघि भएको गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले रौतहटबाट आन्दोलन उठाएका थिए । उनीहरुले लगातार धर्ना तथा जुलुश कार्यक्रमको आयोजना गरेका थिए । पीडितहरुको आन्दोलनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले नै चासो राखेर उनीहरुलाई काठमाडौं बोलाएका थिए ।
प्रधानमन्त्री दाहालले पीडित परिवारलाई बालुवाटारमा बोलाएर वार्ता समिति बनाउने आश्वास दिएका थिए । त्यसको भोलिपल्टै गृहमन्त्रालयले पीडितसँग छलफल गरेको र हिजो (मंगलबार) पाँच बुँदे सहमति भएको छ । सो सहमतिमा उक्त घट्नाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने कुरा उल्लेख छ ।
गौर हत्याकाण्डको विषयमा अहिले जसपाका अध्यक्ष उपेन्द्र यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु साह आमनेसामने भएका छन् । प्रभु साहले पीडितहरुलाई साथ दिएका छन् । पीडितहरुले भने रौतहटमा हालैको बृहत्त जुलुश निकालेर गौर हत्याकाण्डको मुख्य नाईके उपेन्द्र यादव भन्दै उनलाई कारबाहीको माग गरेका थिए । File Photo/ReportersNepal
Related News
गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृहमन्त्रालयबीच ५ बुँदे सहमति (सहमति पत्रसहित)