Logo

विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोस र वनमन्त्री डा. महतोबीच भेटवार्ता, नेपालको प्राथमिकताका विकास कार्यमा सघाउने प्रतिबद्धता



काठमाडौं, २४ साउन । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस (Faris Hadad–Zervos)र उनी नेतृत्वको समूहले वन तथा वातारणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग भेटवार्ता गरेको छ ।

वन तथा वातावरण मन्त्रालयमा आज (बुधबार) भएको भेटघाटका क्रममा उनीहरुबीच नेपालको विकास र खासगरी वन, तथा वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा द्विपक्षीय सहयोग र सहकार्य विषयमा छलफल भएको थियो।

विश्व बैंकले हाल नेपालको वन तथा वातावरण क्षेत्रमा समृद्धिको लागि वन परियोजना, उत्सर्जन न्यूनीकरण कार्यक्रम र हरित सडकसम्बन्धी परियोजना (ACCESS) सञ्चालन गरिरहेको छ ।

समृद्धिको लागि वन परियोजना वन क्षेत्रको एकमात्र रूपान्तरणकारी आयोजना हो। उक्त परियोजना मधेश प्रदेश र लुम्बिनी प्रदेशमा र यी प्रदेशका २५/२५ पालिकामा सञ्चालनमा छ। त्यसैगरि तराई भुपरिधी क्षेत्रका १३ जिल्लामा कार्यान्वयन भईरहेको उत्सर्जन न्यूनीकरण कर्यक्रम नेपालको वनको कार्वन व्यापारसँग सम्बन्धित छ।

उक्त भेटका अवसरमा विश्व बैंकको सहयोगमा सञ्चालित परियोजनाहरूको संक्षिप्त चर्चा गरिएको थियो । परियोजनाको कार्यान्वयनमा थप तीव्रता दिने विषयमा कुराकानी भएको थियो। त्यसैगरी दिगो वन व्यवस्थापन, वातावरणीय मापदण्डको सुधार तथा कार्यान्वन र रणनितीक वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकनका विषयमा समेत छलफल भएको जनाइएको छ।
नेपालले विश्व बैंकलगायतका विकास साझेदारसँग समन्वय र सहकार्यमा Green, Resilient, Inclusive Development (GRID) को बाटो तय गरेको छ।

नेपालको GRID को रणनीतिक योजना तयार भइरहेको र नेपालको आवश्यकत्ता र प्राथमिकता प्राप्त विषयहरूमा रणनीतिक योजनामा रहने साथै वन तथा वातावरण र जलवायू परिवर्तनका क्षेत्रमा नेपाललाई विश्व बैंकले सहयोग र सहकार्य गर्न ईच्छुक भएको विश्व बैंकका डिरेक्टर जर्भोसले जानकारी दिएका थिए ।

जलवायू परिवर्तनको समस्या र सोको नकारात्मक असर तथा प्रभावहरू खासगरी पानीको उपलब्धता र सुरक्षासम्बन्धी विषयका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्ध व्यवस्थापन, नेपाललाई अनुकूल प्रविधि र वन क्षेत्रलाई आर्थिक सुधार र राष्ट्रिय समृद्धिसंग जोड्नुपर्ने विषयमा मन्त्री महतोले विश्व बैंकका नेपालस्थित् उच्च पदाधिकारीरुको टिमसँग छलफल गरेका थिए ।

सो क्रममा विश्व बैंकका पदाधिकारीले भने नेपालको ईकोटुरिजम विकास र प्रबद्र्धन तथा नेपालको प्राथमिकताका विकास कार्यमा विश्व बैंक समूहको साथ र सहयोग जारी रहने विश्वास दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्