Logo

उर्जा क्षेत्रको समग्र विकासको लागि मास्टर–प्लान ल्याउँदै उर्जामन्त्री बस्नेत, सिंचाईको लागि विशेष प्रवन्ध गर्ने घोषणा



काठमाडौं, २५ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले उर्जा क्षेत्रको समग्र विकासको लागि नयाँ गुरूयोजना ल्याउनेगरि अघि बढेका छन् । मन्त्री बस्नेत उर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रमा नवीन कार्यको लागि थालनी गर्नेगरि स्वेतपत्र जारी गर्ने तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणको क्रममा नेपालबाट भारतले १० वर्षभित्र १० हजार मेगावट विद्युत खरिद गर्ने सम्झौता भएपछि नेपालको विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास लिईएको छ । भारतसँग नेपालको विद्युत निर्यात गर्नेगरि मन्त्री बस्नेतले ठोस छलफल गरिराखेका छन् ।

रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा मन्त्री बस्नेतले उर्जा क्षेत्रको समग्र विकासको लागि नयाँ खाका बनाएर काम गरिराखेको जनाए । उनले भने,‘आगामी एक दशकमा २५ हजार मेगावाट उर्जा उत्पादन गर्नेगरि उर्जा विकासको ‘रोडम्याप एक्सन प्लान’ बनाउन लागेको छु । छिट्टै म स्वेतपत्र पनि जारी गर्छु ।’

मन्त्री बस्नेतले सुरुवातदेखि नै पूर्वाधारको अवस्था, उत्पादन क्षमता, सम्भावना र स्रोतको यकिन गरेरै एक दशकभित्र २५ हजारको उर्जा क्षमता विकास गर्नेगरि रोडम्याप तय गर्न लागेको बताएका थिए । नेपालमा उत्पादित विद्युत नेपालमै खपतमा अहिले आफूहरुले जोड दिएको बताए । तर, उत्पादन बढेसँगै त्यसको लागि उचित बजारको खोजी हुने बताए । त्यस्तोमा भारत नै अहिलेको लागि सबभन्दा ठूलो र भरपर्दो बजार हुने उनको भनाई छ ।

उनले उर्जा क्षेत्रमा ठूलो मात्रामा विकासको लागि लगानीमैत्री वातावरण पनि सिर्जना गरिएको बताएका छन् । उनले नेपालमा उत्पादन भएको विद्युत भारत र बंगलादेशमात्रै नभइ अरु देशमा पनि सम्भव भएसम्म निर्यात गरिने योजना बनाएको स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले भने,‘हालसालै भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको छ। यो एकदमै ठूलो उपलब्धि हो । अब निर्यातमा मात्रै नभइ आन्तरिक खपत क्षमता पनि बढाउनुपर्छ भनेर म लागिरहेको छु । भारत र बंगलादेशसँगै अन्य देशमा पनि विद्युत निर्यात गर्नुपर्छ । त्यसको लागि मैले केही खाका बनाउन लागेको छु । कुराकानीहरु सकारात्मक भैरहेका छन् ।’

यस्तै, उनले नेपाल कृषि प्रधान देश भएकोले किसानलाई सिंचाईको राम्रो प्रवन्ध गर्नेगरि कामको थालनी भएको बताए । बस्नेतले विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई पनि जोड दिईएका छन् । उनले जलविद्युतको उत्पादन बढ्दै गएको अवस्थामा यसको खपत र बजार खोज्ने चिन्ताबाट मुक्ति दिलाउन विद्युतीय सवारी साधनले महत्वपूर्ण भूमिका खेल्ने र त्यतिमात्रै नभएर अफ आवर र अफ सिजनमा उत्पादित विद्युतको समेत पनि खपत हुने भएकोले आफूले विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सक्दो सहयोग गरिरहेको बताएका छन् । उनले त्यसको लागि चार्जिङ स्टेशनको विस्तारका साथै भन्सार छुटलगायत आवश्यक नीति निर्माणमा ध्यान दिनेगरि काम थालेको बताए ।



प्रतिक्रिया दिनुहोस्