Logo

गौर हत्याकाण्डबारे पहिलोपटक महन्थ ठाकुरले मुख खोले, उपेन्द्र यादवबारे के भने ? (भिडिओसहित)



काठमाडौं, २५ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले ठूला नेताहरु पनि भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए कारबाही हुनुपर्ने बताएका छन् । उनले भ्रष्टाचारीलाई कसैलेपनि बचाउन नहुने बताए । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

ठूला प्रकरणमा कारबाही प्रक्रिया अघि बढिरहेको उनको भनाई छ । ललिता निवास प्रकरणमा पनि ठूला नेताहरु तानिएको उनको भनाई छ । उनले मधेशवादी दलहरु एक हुने प्रयास भैरहेको सुनाए । उनले आफूलाई पदको कुनै चासो नरहेको जिकिर गरे । उनले राजनीतिक परिवर्तनकै कारण देशमा विकास र समृद्धि भैरहेको बताए । तर, अहिले काम नै नभएको भनेर चर्चा गरिनु गलत र पूर्वाग्रही टिप्पणी भएको उनको गुनासो छ ।

गौर हत्याकाण्डबारे अहिले समिति बनेको र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिबारे सोधिएको प्रश्नमा ठाकुरले गौर हत्याकाण्ड दुई वटा समूह र आईडियोलोजीको बीचमा भीडन्त भएको टिप्पणी गरे । उनले भने,”एउटाको मञ्च बनिरहेको छ, त्यसलाई गएर भत्काएर उ गर्ने भनेपछि अर्को पक्ष चुप लाग्छ ? त्यस अवस्थामा अब एकैचोटी । कसले गर्यो हत्या ? भिडले गर्यो ।”

गौर हत्याकाण्डको दोषी को हो त ? भनेर सोधिएको अर्को प्रश्नमा उनले भने-“अब जाहेरी नै परेको छ । उपेन्द्र यादवको नाम नै छ । जाहेरी परेको छ । छानबिन भैरहेको छ । अब अगाडि बढ्छ कि बढ्दैन ? त्यो हेर्नुहोस । १७ वर्ष भैसक्यो । हत्याकाण्डमा २० वर्ष म्यादै हुन्छ । छानबिन त सुरु भैसकेको छ । तब न हल्ला आयो । तब न विभिन्न भ्वाईस आइराखेको छ । जसको परिवार मारिएका छन्, उनीहरु पनि आन्दोलित छन् नि । उनीहरुले प्रधानमन्त्रीसँग भेटेको छ । गृहमन्त्रीसँग भेटेको छ । केही समझदारी पनि भएको छ । त्योअनुसार अगाडि बढ्छ । अब स्वभाविक छ, जो निर्दोष थिए, जो बम्बईमा थिए उनीहरुमाथि पनि मुद्दा थियो ।”

पत्रकार धमलाले उसो भए तपाईंहरु खासगरी सत्ता गठबन्धन उपेन्द्र यादवलाई बचाउन लाग्नुहुन्न होइन ? भनेर सोधेको अर्को प्रश्नमा ठाकुरले भने-“सरकार ढल्छ भने ढल्छ । अब के गर्नु त ? अस्थिरता त छँदैछ नि । यो काण्ड नभएपनि सरकार ढलेको हो । उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिए, समस्या आउँछ । त्यसपछि निकास हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्