Logo

युवाका नीति कार्यान्वयनमा समस्या : युवा सांसद



काठमाडौं, साउन २६ । युवा सांसदहरूले युवाका लागि बनेका कानून कार्यान्वयनमा समस्या रहेको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीवार आयोजना गरेको ‘युवा र उद्यमशीलता बहस’ कार्यक्रममा उनीहरूले युवाका नीति कार्यान्वयन नहुँदा युवाको क्षेत्रमा काम हुन नसकेको बताए ।

सांसद प्रदीप पौडेलले कार्यान्वयन नहुने नीति बनाएर त्यसको अर्थ नहुने बताए । उनले राज्यले रोजगार, सुशासन, नीतिको सम्बन्धमा समाधानको निष्कर्ष निकाल्न नसकेको आरोप लगाए ।

‘शैक्षिक प्रमाणपत्र राखेर विद्यार्थीले कहाँ ऋण पाएका छन् ? सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकबाट युवाले ऋण पाए त ? सामाजिक उत्तरदायित्वअन्तर्गत नक्कली कृषकले ऋण लगेका छन्,’ उनले भने, ‘प्रणालीभन्दा पहुँचका आधारमा काम हुने भएकाले युवामा वितृष्णा बढेको छ ।’

सरकारले पद्दति, सुशासनको काम गर्न नसकेको पौडेलेको भनाइ थियो । उनले सरकार र राजनीतिक दलले युवाको क्षेत्रमा परिमाण दिने गरी र सुशासन प्राप्तिका लागि अगाडि बढ्नुपर्ने बताए ।

सांसद सूर्यप्रसाद ढकालले युवाका क्षेत्रमा बनेका नीतिमा काम गर्न नसकेकाले युवालाई उद्यमशील बनाउन समस्या भएको बताए । उनले युवाका विषयमा धेरै मन्त्रालयले बजेट छुट्याए पनि बजेटको सही सदुपयोग हुन नसकेको बताए । ‘योग्य युवा राजनीतिमा नआउने हो भने अयोग्य युवाले राजनीति गरिरहन्छन्,’ उनले भने, ‘मुलुकलाई सही दिशामा लैजानका लागि योग्य युवा राजनीतिमा आउनुपर्दछ ।’

सांसद माधव सापकोटाले कृषिलाई आधुनिकीकरण र राज्यले संरक्षण गर्ने हो भने युवाका समस्या केही हदसम्म भए पनि समाधान हुने बताए । उनले युवाका क्षेत्रमा बनेका कानून कार्यान्वयनमा जोड दिए । सांसद सुमना श्रेष्ठले नीति कार्यान्वयनमा ध्यान नदिएकाले युवा उद्यमी बन्न नसकेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्