काठमाडौं, साउन २७ । भिमदत्त राजमार्ग पहिरोका कारण छ दिनदेखि अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ । सोमवार राजमार्गको बूढीतोला खण्डमा गएको पहिरोका कारण सडक सञ्चालनमा आउन नसकेको हो ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ । दुईतर्फी गाडी सञ्चालन हुन नसकेपछि यात्रु पाँच दिनदेखि बीच बाटोमै अलपत्र परेका छन् ।
पहिरोले सडक नै भासिएपछि नयाँ ट्रयाक खोलिएको छ । तर लगातारको बर्षाले नयाँ ट्रयाक हिलाम्य नहुँदा गाडी चलाउन नमिलेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले अत्तरियाले जनाएको छ ।
नयाँ खोलिएको ट्रयाक ढुंगा भर्ने काम भइरहेको बताइएको छ । बर्षा नभएमा आज राजमार्ग सुचारु हुन सक्ने अनुमान गरिएको छ । तर बर्षा भइरहेकाले काम गर्न असहज भएको छ । सडकको करीब ५ सय मिटर पहिरो भत्काएपछि समस्या भएको हो ।