Logo

अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो



लमजुङ, २९ साउन । बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।

केहीदिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा पर्ने रामबजार, घोप्टे, च्याम्चे, रैदुखोलालगायतका स्थानमा अवरुद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो । खरखरेमा पानीसहित ठूलाठूला ढुङ्गासहितको पहिरो आएको र डोजरले खोतल्दा झन पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन । तर आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इञ्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

उनले पहिरोको जोखिम भने अझै रहेको बताए। यस सडकमा दैनिक ३० देखि ४० वटा सवारी साधन आवतजावत हुने गरेका छन् । लमजुङ र मनाङ जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा बढी मर्का मनाङवासीलाई पर्दै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्