Logo

‘हाम्रा नेताहरू नारामा मात्र राष्ट्रवादी हुन्, आफू केही गर्दैनन्, भारतलाई दोष लगाउँछन्’



काठमाडौं, ३० साउन । वरिष्ठ कूटनीतिज्ञ एवं प्राध्यापक लोकराज बरालले ७७ वर्षअघिको स्वतन्त्रताको जगमा टेकेर भारत तेस्रो विश्वशक्तिको रुपमा आउने कुरा सिंगो दक्षिण एसियाकै निम्ति खुसीको खबर भएको बताएका छन् ।
‘भारतले १५ अगस्टलाई अरुको गुलामीबाट मुक्त भएको ऐतिहासिक दिनका रुपमा मनाइरहेको छ । लोकतन्त्रको त्यही जगमा टेकेर तेस्रो विश्वशक्तिको रुपमा आउने कुरा गरेको छ । यो सिंगो दक्षिण एसियाकै निम्ति खुसीको खबर हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
राजनीतिक नेताहरुको अदूरदर्शिताका कारण मुलुक पछि परेको पनि उनले बताए । बरालले भने, ‘हाम्रा नेताहरुमा राष्ट्रिय चिन्तन नै छैन । न्यूनतम कुरामा पनि सहमति छैन । नारामा राष्ट्रवादी भएका छन्, काममा केही छैन । जनताप्रति जवाफदेहिता छैन ।’
नेपालको विकासमा भारतको धेरै ठूलो योगदान रहेको उनले स्मरण गरे । बरालले थपे, ‘नेपाललाई सबभन्दा धेरै सहयोग गर्ने देश भारत नै हो । एयरपोर्ट, त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, स्कुल, कलेज बनाइदिएको छ । हामीले पूर्वाग्रह लिनु हुँदैन । आफू केही नगर्ने, भएको स्रोत साधनमा दुरुपयोग गर्ने अनि भारतलाई दोष लगाएर के हुन्छ ? गर्नेसम्म गरेको छ भारतले । कति गर्ने भन्ने त सीमा नै छैन । तर नगरेको होइन ।’ नेपालको राजनीतिक परिवर्तनमा पनि भारतको सहयोग रहेको उनको भनाइ छ ।
फरक प्रसंगमा उनले नेकपा एमालेले बेतुकको कुरामा संसदलाई बन्धक बनाएको आरोप पनि लगाए । उनले भने, ‘संसदलाई एमालेले हतियार बनाइरहेको छ । कृष्णबहाुदर महरा र उनको छोरालाई जाँचबुझ हुनुपर्छ भन्ने मागबाहेक अरु बेतुकको कुरा हो ।’



प्रतिक्रिया दिनुहोस्