काठमाडौं, ३२ साउन । आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले गौर हत्याकाण्ड माओवादीको साख गिराउनको लागि गरिएको विभत्स हत्याकाण्ड भएको टिप्पणी गरेका छन् । उनले आफूले गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाएरै छाड्ने पनि उद्घोष गरेका छन् । उनले भने,‘पीडितलाई न्याय दिलाएरै छोड्छु । रौतहटमा लागेको यो दागलाई धोएरै छोड्छु । म एक्लै छैन् । नेपाली जनता प्रभु साहको साथमा छन् । न्यायको साथमा छन् ।’
गौर हत्याकाण्डका पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको एक साता नबित्दै सत्ता गठबन्धनभित्र छलफल भएर उक्त घट्नाको छानबिन नै अघि नबढाउने भनेर विषय बाहिर सम्प्रेषण भएपछि आक्रोशित बनेका साहले प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीको पनि आलोचना गरेका छन् । यद्धपी उनले आफूले अहिले नै प्रधानमन्त्री दाहालप्रति आशंका भने नगरेको स्पष्ट पारेका छन् ।
गौर हत्याकाण्डका पीडितहरुले विगत १७ वर्षदेखि न्यायको याचना गर्दा पनि राज्य संवेदनशील नबनेको उनको आरोप छ । आफू रौतहटको जनप्रतिनिधि भएको नाताले पनि उक्त घट्नाको सत्य, तथ्य छानबिन हुनुपर्ने र पीडितहरुले न्याय पाउनुपर्ने भनेर निरन्तर आवाज उठाएको उनको भनाई छ । उनले रौतहटजस्तो पवित्र भूमिमा भएको नरसंहारको दाग आफूले पीडितलाई न्याय दिलाएर छाड्ने र त्यो दाग मेटाउने पनि प्रण गरेका छन् ।
प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रभु साहले गौर हत्याकाण्डका पीडितहरु अहिलेपनि न्यायको पखाईमा रहेको सुनाए । उनले भने,‘पीडित न्यायको पर्खामा छन् । नेपाली जनताले पनि यो घट्नालाई नजिकबाट हेरिरहेका छन् । यदि कानूनी शासनको पक्षधर, सुशासन र मानवअधिकारको पक्षधर हौं भने यस्तो अनुत्तरित विषयमा जवाफ दिनुपर्छ । मलाई लाग्छ–राज्यले जसरी गौर हत्याकाण्डको विषयमा यसलाई अघि बढाउने कमिटमेन्ट गर्यो, हामी विश्वस्त छौं की राज्यले झुटो बोल्दैन् ।’
उनले गौर हत्याकाण्डका पीडितसँग गरेको सहमतिविपरित यदि उक्त घट्नाको फाईल अघि नबढाउने सत्ता गठबन्धनको सहमति हो भने लिडरसिपमा नै खडेरी देखिएको आरोप लगाए । उनले गौर हत्याकाण्डको बारेमा प्रधानमन्त्री प्रचण्डको धारणा के हो भनेर मिडियाले पनि बाहिर कुरा ल्याउनुपर्नेमा जोड दिए ।
उनले पीडितहरुसँगको सहमतिबाट सरकार ब्याक भएको हो भने यसले सरकारप्रतिको विश्वासमा संकट पैदा गर्ने र स्वयम प्रधानमन्त्री प्रचण्डप्रति अविश्वास पैदा हुने टिप्पणी गरे । उनले रौतहटको गौरवमय इतिहास रहेको र जहिलेपनि उक्त जिल्लाले न्यायको लागि लडेको स्मरण गराए । तर, गौर हत्याकाण्डको कारण रौतहटको शीरमा कलंक लागेको भन्दै अब त्यसलाई (दाग) हटाउने बताए । उनले गौर हत्याकाण्डमा आफ्नो पनि नाम मुछिएको भन्दै छानबिन गर्न कसले रोकेको छ ? भन्दै प्रश्न गरे । उनले गौर हत्याकाण्डमा मुद्दाको जोहरी दर्ता गरेर पनि किन छानबिन नगरेको भन्दै प्रश्न गरे । file photo