काठमाडौं, ३२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति निवासमा आज (बिहीबार) भएको भेटमा राष्ट्रपति पौडेललाई संघको आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशन तथा विश्व सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिईएको एनआरएनए सचिवालयले जनाएको छ ।
सो अवसरमा संघका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सम्मेलनमा उद्घाटन र सम्बोधनका लागि अनुरोध गरेका थिए । भेटमा राष्ट्रपति पौडेलले सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका छन् ।
सोही अवसरमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्गप्रशस्त गरेकोमा धन्यवाद व्यक्त गर्दै हाल निर्माण भइरहेको नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको जानकारी गराएका थिए ।
अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपतिसमक्ष अनुरोध गरे । राष्ट्रपति पौडेलले नियमावलीमा अप्ठ्यारा र झन्झटिलो प्रावधान समेटिनु नहुनेमा आफू पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो ।