Logo

माओवादीको बचाउ गर्दै ओलीमाथि फेरि खनिए घनश्याम



काठमाडौं, २ भदौ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई बेलाबेलामा हत्यारा, आतंकारी भन्ने गरेको भन्दै आपत्ति जनाएका छन् । उनले ओलीको यस प्रकारको प्रवृत्तिलाई इतिहास चेतका विभत्स, डरलाग्दो र घृणाष्पद चेतनाको संज्ञा दिएका छन् ।

झापा क्रान्तिबारे लेखिएको पुस्तक विमोचन समारोहमा महासचिव भुसालले माओवादीसँग सम्बन्ध राम्रो हुँदा ओलीले क्रान्ति महान थियो भन्ने र सम्बन्ध विग्रदा हत्यारा र आतंककारी भन्ने गरेको बताए । यस्ताखाले आरोपहरु अनुचित रहेको उनको टिप्पणी छ ।

‘कमरेड ओली लगायत अरु साथीहरुले पनि इतिहासको बारेमा जसरी बोल्छन्, माओवादी जनयुद्धको बारेमा जे बोल्छन्, हिजो सहमति अथवा असहमति जे थियो होला । तर, राज्यले यो गरेर हामी धेरै मान्छेहरुको ज्यान जोगाउँछौं, इतिहासलाई अझ अगाडि लैजान्छौं भनेर सहमति भएर अगाडि बढेको घटनालाई आज फर्केर हेर्दा जतिखेर मिलिन्छ, त्यतिबेला महान थियो भन्ने ।’ उनले भने, ‘जतिखेर मिलिँदैन त्यतिबेला हत्यारा, आतंककारी भन्ने राजनीतिमा इतिहास चेतका विभत्स र डरलाग्दो, घृणाष्पद यो चेतना डरलाग्दो छ । यो त्यही चेतना हो, जसले जलारी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ, यो सबै कुरा गर्छ ।’



प्रतिक्रिया दिनुहोस्