काठमाडौं, ४ भदौ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगी नियन्त्रणका लागि सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरिरहेको बताएका छन् ।
‘देशभरि नै डेंगीको प्रभाव छ । सरकारले दीर्घकालीन र अल्पकालीन योजना बनाएर खोज र नष्ट गर अभियान चलाइरहेको छ । डेंगी नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
वर्षा याममा आफ्नै घर वरिपरिको बगैंचा, फालेका बोटल, लामो समय जमेका पानीको सरसफाइमा ध्यान दिन पनि डा. पोखरेलले सुझाव दिए । रोग प्रभावित धरान उपमहानगरपालिकामा डेंगीको छुट्टै अस्पताल बनाएको पनि उनले बताए ।
डेंगीसँगै देशभरि फैलिएको आँखा पाक्ने रोगको औषधिको अभाव नभएको पनि डा. पोखरेलले बताए । उनले भने, ‘सुरुमा औषधि अभाव थियो । अहिले पुग्ने मात्रामा छ । औषधि व्यवस्था विभागको समन्वयमा सातैवटा प्रदेशका स्थानीय तहमा औषधि पुर् याएका छौं । दुःख परेका बेला साथ दिनुपर्नेमा कतिपयले कृत्रिम अभाव सिर्जना गरेका हुन सक्छन् ।’