Logo

राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रका लागि आन्दोलन हुँदैछ, सरकारलाई घुँडा टेकाउँछौंः महामन्त्री जबरा



काठमाडौं, ५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर जवराले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रका लागि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्खा सिजन सकिएपछि राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको मागसहित सडक आन्दोलनको तयारी भइरहेको बताएका हुन् ।

‘हामी वर्खाको सिजनपछि सडक आन्दोलन गर्ने पूर्ण तयारीमा छौं । राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र नआई छोड्दैन । हामी प्रयासरत छौं । नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजासहितको प्रजातन्त्र ल्याउने प्रयास मेरो रगतको थोपा हुन्जेलसम्म प्रयास गर्छु,’– उनले भने ।

साथै, संघीयता खारेजीको आवश्यकता रहेको उनले बताए । गरिब देशले ४६ हजार नेता पाल्न नसक्ने उनको भनाई छ । उनले सरकार परिवर्तन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हटाउनेमात्रै नभई यो व्यवस्थालाई नै हटाउने प्रयासमा राप्रपा रहेको बताए ।

सरकारलाई घुँडा टेकाएर सडकबाट आफूहरुको एजेण्डामा ल्याउने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्