Logo

ललिता निवासमा सीआईबी चुक्यो : पूर्वडीआईजी



काठमाडौं, ६ भदौ । पूर्व डीआईजी हेमन्त मल्लले ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) राजनीतिक दबाबमा परेको टिप्पणी गरेका छन् ।
‘ललिता निवास जग्गा प्रकरणमा सीआईबीले दुई वर्ष लगाएर अनुसन्धान गरेको छ । सीआईबी अनुसन्धानमा चुकेको छैन तर गठबन्धनका माथिल्लो तहका नेताहरुले चुक्ने अवस्था निम्त्याइदिए । सीआईबी दबाबमा परेको देखिन्छ । ट्र्यापमा परेको देखिन्छ । यति गम्भीर अपराधको अनुसन्धानबारे शीर्षनेताहरुको बैठकमा छलफल हुन्छ भने यस्तै अवस्था त निम्तिन्छ नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग सीआईबीका पूर्व प्रमुख समेत रहेका मल्लले भने । सीआईबीले हिजो सरकारी वकिलको कार्यालयमा ललिता निवास प्रकरणको प्रतिवेदन बुझाउँदै २३८ जनामाथि मुद्दा चलाउनु पर्ने राय दिएको छ ।
सर्वोच्च अदालतले निर्देशनात्मक आदेश गरेकाले अहिले नै आत्तिनुपर्ने अवस्था भने नभएको मल्लको भनाइ छ । उनले भने, ‘यो अख्तियारसँग सम्बन्धित मुद्दा हो । पूर्वप्रधानमन्त्रीहरुलाई रातारात गराइएको बयान होइन, ठाडो कागज मात्र हो । यसले धेरै बहसका बाटाहरु खोल्छ । अदालतले निर्देशनात्मक आदेश गरेकाले अहिले नै हामी आत्तिनुपर्ने अवस्था छैन । मुद्दा अदालतमा जाँदैमा सबै कुरा टुंगिँदैन । यसमा हद म्याद पनि लाग्दैन ।’
ललिता निवास प्रकरणको मुख्य दोषी राणा परिवार नै रहेको पनि पूर्व डीआईजी मल्लले औंल्याए । उनले थपे, ‘यसमा तीन तह मुख्य जिम्मेवार छ । सबभन्दा दोषी राणाहरु नै हुन् । उनीहरुले जानीजानी किन यसो गरे ? त्यसपछि बीचमा खेल्ने खेलाउने, नक्कली कागज बनाएर सरकारी जग्गा हडप्ने दोषी छन् । अनि मात्र राजनीतिक नेताहरु आउँछन् । मीनबहादुर (गुरुङ) जीको रोलबारे म भन्न सक्दिनँ ।’
अर्को प्रसंगमा उनले सुन तस्करी प्रकरण राजनीतिक संलग्नताको उपज भएको पनि उनले बताए । मल्लले भने, ‘इमानदार मानिसले इमानदार मानिस नै खोज्छ । नेताहरुले राम्रो मान्छे नै छान्दैनन्, खराब मान्छे ल्याउँछन् । सुन तस्करीमा कहीं न कहीं राजनीतिक संलग्नता छ । भन्सार प्रमुखलाई फोर्स लिभमा किन राखेको ? दोस्रो तहको मान्छेलाई जिम्मेवारी नदिएर थर्ड लेयरलाई किन दियो ? यसमा अनेक आशंका छन् ।’

 



प्रतिक्रिया दिनुहोस्