Logo

इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि तत्काल फिर्ता हुनुपर्छः प्रदीप पौडेल



काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैै उनले त्रिविको ((आईओई) ले एकै पटक दुई सय प्रतिशत शुल्क बढाएको बताए ।

‘इन्निनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वुद्धि भएको छ, त्यो अस्वभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिइएर विद्यार्थीहरुको मागलाई पूरा गरियोस्,’– उनले भने ।

देशकै सबैभन्दा जेठो विश्वविद्यालय भएर पनि त्रिवि असाध्यै भद्रगोल तरिकाबाट सञ्चालन भइरहेको बताउँदै उनले शिक्षा मन्त्रालयलाई श्वेतपत्र जारी गर्न आग्रह गरेका छन् ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.रबी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

शुल्क वृद्धिको निर्णय फिर्ता हुनुपर्ने माग राख्दै नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ तीन दिनदेखि आमरण अनशनमा छन् । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्