काठमाडौं, ७ भदौ । ललिता ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङले आफूले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी व्यक्तिबाट जग्गा खरिद गरेको बताएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) लाई दिएको बयानमा उनले नियमअनुसार राजश्व तिरेर व्यक्तिसँग जग्गा खरिद गरेको बताएका हुन् ।
‘म र मेरो परिवारले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेका हौ । मैले तथा मेरो परिवारले जग्गा धनी पुर्जा हेरी नियमानुसारको राजस्व तिरी सम्बन्धित जग्गा धनीहरूलाई नगदै रकम बुझाई जग्गा खरिद गरेका हौ,’– सिआईबीसँगको बयानमा उनले भनेका छन् ।
आफू र आफन्तको नाममा खरिद भएको जग्गामा अन्दाजी २–३ करोड लगानी भएको उनको भनाई छ । नेपाल सरकारको नामबाट विभिन्न व्यक्तिहरूको नाममा जग्गा नामसारी, दाखिल खारेज भइसके पश्चात् साबिक जग्गाधनीसँग तोकिएको मोल तिरी जग्गा खरिद गरेको उनको दाबी छ । File Photo/RN