काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि मुद्दाको पेसी स्वचालित (अटोमेसन) प्रणालीबाट तोकिने भएको छ। अदालतमा हुने भ्रष्टाचार र अनियमितता रोक्न आजदेखि सर्वोच्चमा मुद्दाको पेसी स्वचालित प्रणालीबाट तोकिन लागेको हो ।
पेसी तोक्दा कर्मचारीले आफूखुसी गरेको गुनासो आएपछि स्वचालित प्रणाली सुरु गर्न लागिएको हो। स्वचालित प्रणाली लागु भएपछि महिनौंसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भ्रष्टाचार, अनियमितता रोक्न अदालतलाई प्रविधिमैत्री बनाउन लागिएको बताउँदै मुद्दा दर्ता भैसकेपछि पेसी तोक्दा पनि चलखेल हुने गरेको भन्ने जनगुनासो सम्बोधन गर्न स्वचालित प्रणाली अपनाउन लागिएको बताएका छन् ।
पेसी तारेख स्वचालित प्रणालीमा सञ्चालनमा आएसँगै दैनिक सुनुवाइ हुने मुद्दाको पेसी तोक्दा मानव हस्तक्षेप नहुने विश्वास गरिएको छ ।
हालसम्म पेसी कर्मचारीले तोक्दै आएका छन्। कर्मचारीमै भर पर्नुपर्ने भएकाले महिनौंसम्म मुद्दा पेसीमा चढ्न नसकेको सेवाग्राहीको गुनासो हुने गरेको थियो ।
नेपालको ३१ औँ प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त भएका थिए । उनले भदौ ५ गते पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरी कार्यभार सुरु गर्दा मुद्दाको पेसी स्वचालित प्रणालीबाट तोकिने पहिलो निर्णय गरेका थिए ।