Logo

राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रका लागि संघर्ष गर्न तयार हो भने लिङ्देनसँग भोलिनै पार्टी एकता हुनसक्छः कमल थापा



काठमाडौं, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजीको निमित्त संघर्ष र आन्दोलन गर्न तयार भएको खण्डमा भोलिनै पार्टी एकता हुनसक्ने बताएका छन् ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई पार्टीको नेतृत्व गर्ने चाहना पनि नरहेको र एकताको निमित्त एउटै बटमलाईन अहिलेको राज्यसत्ताविरुद्ध संघर्ष भएको बताए ।

‘देश र जनतालाई नै केन्द्रविन्दुमा राखेको छु, देशको अवस्थालाई हेरेर हामीहरुको बीचमा एकता हुनसक्छ । त्यसको निमित्त एउटैमात्र शर्त मलाई नेतृत्व पनि चाहिएको छैन, त्यो शर्त भनेको के हो भनेदेखि संघर्ष र आन्दोलन ।’ उनले भने, ‘बटमलाईन नै त्यही हो । राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना र संघीयताको खारेजीको निमित्त संघर्ष र आन्दोलनमा आउनका निमित्त उहाँहरु तयार हुनुहुन्छ भने भोलि नै पार्टी एकता हुनसक्छ ।’

राप्रपाका अध्यक्ष लिङ्देन, नेता धवल शमशेर र अरु कसैसँग पनि आफ्नो व्यक्तिगत वैमनष्यता र दुस्मनी नरहेको उनले बताए । राप्रपा रगत पसिना बगाएर खडा खडा गरेको उनले बताए ।

पार्टी एकतमा कुनै बाधा नरहेको उनले बताए । व्यक्तिगत कुण्ठा र स्वार्थभन्दा देश र जनताको हित ठूलो कुरा भएकोले राप्रपा संघर्षको लागि तयार भएको खण्डमा भोलिनै पार्टी एकता गर्न सकिने उनले बताए ।

आजभन्दा डेढ÷दुई वर्ष अगाडिको व्यक्तिगत चिन्ता, चासो, कुण्ठा, चित्त दुखाई सबै सकिएको र पार्टी एकताको लागि राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजीको बटम लाईनमा आफू तयार रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्