गलकोट (बागलुङ), ११ भदौ । बागलुङको उच्च भागमा पाइने आलु निकै स्वादिष्ट मानिन्छ । जिल्लाको ढोरपाटन, ताराखोला, निसीखोला, तमानखोलालगायत स्थानमा पाइने आलु जिल्लाबाहिर पनि निर्यात हुने गरेको छ ।
आलुको उत्पादन राम्रो भए पनि बजारीकरणमा समस्या हुँदा किसानले आलु कुहिने गुनासो गरिरहन्छन् । कृषि ज्ञानकेन्द्र बागलुङले यस वर्ष आलु उत्पादन बढाउन प्रवर्द्धनात्मक कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको जनाएको छ ।
आलुको उत्पादन बढाउन यन्त्रिकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिनेगरी यस वर्ष आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको केन्द्रका निमित्त प्रमुख कुमार पुनले जानकारी दिए । आलुको उत्पादनदेखि बजारीकरण गर्ने उद्देश्यले चालु आवमा प्रवर्द्धन कार्यक्रमका लागि मात्रै तीन करोड ६० लाख बजेट विनियोजन गरिएको उनले बताए ।
यस वर्ष आलुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउँदै पुनले जिल्लामा उत्पादित आलुको ब्राण्डिङ गर्न अहिलेको बजेटले सहयोग गर्ने बताए । “स्थानीय आलु कहिएर जाने र बाहिरका आलु बजारमा भित्रिनाले यहाँका किसान मर्कामा पर्ने गरेका छन्”, उनले भने, “यस वर्ष गण्डकी प्रदेश सरकारको प्राथमिकता खायन आलु परेको छ । आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषकलाई आलुको बीउ, कृषि औजारदेखि बजारीकरणमा सहयोग पुर्याइनेछ ।”
रैथाने आलु र उन्नत जातको आलुको उत्पादन बढी हुने भएकाले यसपटक खायन आलुको उत्पादन बढाउनेगरी कार्यक्रम ल्याइएको पुनले बताए । उनका अनुसार यो कार्यक्रम ठूलो मात्रामा आलुको उत्पादन हुने क्षेत्रमा लागू गरिनेछ ।
कृषकलाई उन्नत जातको आलुको बीउ उपलब्ध गराउने, सिँचाइ, सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्ने योजनाका साथ गण्डकी प्रदेशले प्राथमिकतामा राखेर बजेट पठाएको पुनको भनाइ थियो ।
गण्डकी प्रदेशलाई आलुमा आत्मनिर्भर गराउने, आलुको ब्राण्ड गर्ने र पहाडी जिल्लामा खायन आलुको प्रवद्र्धन गर्ने उद्देश्य राखेर यस वर्ष आलुलाई छुट्टै बजेट विनियोजन गरेको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले जानकारी दिए । आलु उत्पादन बढाएर बजारको सुनिश्चिततालाई सघाउन आलु उत्पादत हुने ठूलो क्षेत्रमा कार्यक्रम लागू गरिने बताउँदै उनले यसका लागि आवश्यक कार्यविधि निर्माणमा प्रदेश सरकार लागेको जानकारी दिए ।
बागलुङ आलु उत्पादनको लागि उर्बर जिल्ला मानिन्छ । विशेष गरी बागलुङको ढोरपाटन, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको आलु निकै स्वादिष्ट मानिन्छ । साथै काठेखोला, जैमिनी र बरेङमा समेत आलुको उत्पादन हुने गरेको छ ।
यहाँ उत्पादित आलु बागलुङ बजार, पोखरा, म्याग्दी, बुटवल र काठमाडौँसम्म बिक्री हुने गरे पनि किसानले भाउ नपाएको गुनासो गर्दै आएका छन् । चक्लाबन्दी कार्यक्रमकै परिमार्जनरुपमा खायन आलुको प्रवर्द्धन कार्यक्रम आएको भन्दै एउटै प्लटमा आलु उत्पादन गर्दा सिँचाइ तथा यन्त्रिकरण गर्न सहज हुने मन्त्री जिसीले बताए ।
अघिल्लो वर्ष जिल्लामा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु लगाइएको थियो । त्यसबाट ५९ हजार छ सय ५० मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष आलु उत्पादन छ प्रतिशतले बढ्ने देखिएको छ ।
उत्पादित आलुमध्ये ३० प्रतिशत घर खान प्रयोग हुने र ७० प्रतिशत कृषकले बिक्री गर्ने गर्दछन् । आलुबाट कृषकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्न खायन आलु कार्यक्रमले सहज हुनेछ । आलु उत्पादनमा रैथाने र उन्नत जातको परीक्षणसमेत गरिनेछ ।
बागलुङमा स्थानीय सेतो, रातो र निलो जातको आलु प्रचलित छ । उक्त कार्यक्रममा आलुखेती विस्तारसँगै एक सय ५० हेक्टर जमिनमा आलुखेतीको प्रवर्द्धन गरिने केन्द्रका निमित्त प्रमुख पुनले जानकारी दिए । उनका अनुसार खायन आलु प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारले म्याग्दी, पर्वत र बागलुङमा नयाँ कार्यक्रम ल्याएको छ । रासस