काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक खड्काले गठबन्धन सरकार आफ्नो समयावधिसम्म चल्ने दाबी गरे । कांग्रेसले स्थायित्वलाई बल पुर्याउने काम गर्ने र सरकारले तलमाथि गरको खण्डमा सचेत गराउँदै अगाडि बढ्ने उनको भनाई छ ।
‘यो सरकार आफ्नो समयावधिसम्म चल्छ । यसमा कुनै फरक पर्दैन । कांग्रेसले स्थायित्वलाई बल पुर्याउने काम गर्छ । मुलुकमा अस्थिरता भयो । यो राजनीतिक परिवर्तन भयो ।’ उनले भने, ‘स्थायित्व नभएको कारण सुशासन कायम हुनसकेन । आर्थिक प्रगतिको बाटो सुस्त देखियो भन्ने कांग्रेसको प्रष्ट धारण हो ।’
निर्वाचनको समयमा कांग्रेसले सरकार पाँच वर्ष चलाउने, संविधाको कार्यान्वयन र समृद्धिका लागि भोट भन्दै भोट मागेको स्मरण गर्दै उनले उक्त मर्मबाट पार्टी बाहिर नजाने बताए । ‘हामीले जनतासँग भोट माग्दैगर्दा हामी यो सरकार पाँच वर्ष चलाउँछौं, संविधाको कार्यान्वयन र समृद्धिका लागि भोट मागेका हौं । त्यो मर्मभन्दा बाहिर कांग्रेस छैन,’– उनले भने ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले गति लिइराखेको उनको भनाई छ । उनले सरकारले खोलेका विभिन्न भ्रष्टाचारको फाईल निश्कर्षमा पुर्याउन आवश्यक रहेको बताए । उनले सरकारका संरचनाले गरेको छानविनमा चित्त नबुझेको खण्डमा सुन तस्करीको छानविन गर्ने भनेर दलहरुबीच सहमति भएको बताए ।
उनले अहिलेको सरकार प्रधानमन्त्री प्रचण्डका लागि अवसर र चुनौति दुवै भएको बताए । प्रचण्डको यो कार्यकाल प्रचण्डलाई पुष्पकमल दाहालमा परिणत गर्ने मौका भएको उनको भनाई छ ।
‘उहाँको नामै त्यस्तो छ, प्रचण्ड ! प्रचण्डलाई पुष्पकमल दाहालमा परिणत गर्ने यो असाध्यै ठूलो मौका पनि हो । यो मौकाबाट उहाँ विचलित हुनुहुन्न भन्ने मलाई लाग्छ । उहाँले सहकार्यका लागि जोड दिएको पनि देखिन्छ,’– उनले भने ।
प्रधानमन्त्री प्रचण्डले गिरीबन्धुृ टि स्टेट प्रकरण ललिता निवास प्रकरणजस्तै भएको र त्यसको पनि छानविन अगाडि बढाउने बताएको उनको भनाई छ । उनले राज्यले यस्ता प्रकारका ठूला प्रकरणलाई कानुनी दायरामा ल्याउनुलाई सुशासनको पाटो मान्नुपर्ने बताए ।
‘उहाँ (प्रचण्ड) ले भन्नुभएको छ, ललिता निवास जस्तो हो, गिरीबन्धु चियाको जग्गा प्रकरण । यसमा केही फरक छैन । गिरीबन्धु प्रकरणमा पनि कारबाही हुनुपर्छ । यस्ता ठूला प्रकरणलाई राज्यले कानुनी दायरामा ल्याउन थाल्छ । यसको सुरुवातीलाई सुशासनको पाटो मान्नपर्छ,’– नेता खड्काले भने ।
सरकारले सुशास कायमको नाममा व्यक्तिगत प्रतिशोधबाट मुक्त रहन पर्ने उनको भनाई छ । कांग्रेसले प्रधानमन्त्रीलाई प्रचण्डबाट पुष्पकमल दाहाल भएको हेर्न चाहेको बताए । सरकार तलमाथि हुने कुरामा शंका नगर्न उनले आग्रह गरे । सरकारले तलमाथि र ढिलासुस्ती गरेको खण्डमा कांग्रेसले सजग गराउँदै सरकारलाई अगाडि बढाउने उनले बताए । कांग्रेस कानुनी राज्य, सुशासन र लोकतन्त्रको पक्षमा रहेको बताए ।