Logo

एमसीसी उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै



काठमाडौं, भदौ १२ । अमेरिकी सरकारको अनुदान सहयोगमा आधारित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको नेपाल सम्झौता कार्यान्वयन चरणमा प्रवेशको उद्घाटन समारोहमा सहभागी हुन एमसिसी सम्झौता कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड आज नेपाल आउँदैछन् ।

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सम्झौता कार्यान्वयनको समारोहमा अमेरिकी सरकारको प्रतिनिधित्व गर्दै उनी नेपाल आउन लागेका हुन् । सम्झौता कार्यान्वयनका लागि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्दै हालसम्म हासिल गरेको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको दूतावासले औँल्याएको छ ।

नेपालमा एमसिसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपाल सरकार र यहाँका राजनीतिक दलको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासले जनाएको छ ।

दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ, “यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसिए–नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ ।” साथै सम्झौताका लक्ष्य समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेको पनि जनाइएको छ ।

क्यामरन आजै अर्थ मन्त्रालयमा हुने एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुनेछन् ।
तिन दिन नेपाल भ्रमणका क्रममा क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ । उनी भदौ १५ मा फर्किने छन् ।

त्यस्तै ​क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउँदैछन् ।

उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अरु अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ ।​



प्रतिक्रिया दिनुहोस्