काठमाडौं, भदौ १३ । रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु–जी प्रविधिको उपकरण जडान गरी गोसाइँकुण्डमा मोबाइल सञ्चालनमा ल्याएको हो ।
समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पु¥याउन टेलिकमलाई असहज भइराखेको अवस्थामा गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधि सभा सदस्य इञ्जिनियर मोहन आचार्यको सहयोगमा एक टनभन्दा बढी परिमाणका उपकरण ढुवानी गरिएको हो ।
अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ । गोसाइँकुण्डमा उपलब्ध मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने बताइएको छ ।