काठमाडौं, १५ भदौ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको कूटनीतिक शिथिलता र चिनियाँ बेवास्ताका कारण चीनले बुच्चे नक्सा राखेको टिप्पणी गरेका छन् ।
‘नेपालले २०७७ जेठ ७ गते चुच्चे नक्सा निकाल्यो । त्यसलाई मन्त्रिपरिषद् र संसद्का साथै राष्ट्रपतिले प्रमाणीकरण गरे । यसनिम्ति संविधान संशोधन समेत गरिएको छ । त्यतिबेला नै नेपालले अफिसियल्ली र डिप्लोमेटिकल्ली भारत, चीन र संयुक्त राष्ट्रसंघलाई नयाँ नक्सा पठाउन सकेन । त्यसकारण चीनले नयाँ नक्सांकनमा चुच्चे नक्सालाई बेवास्ता गर्यो, बुच्चे नक्सा नै राखिदियो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
चीनले नेपालको सिमाना समेत आफ्नो नक्साभित्र देखाउनुले नेपालको कूटनीतिक असफलता जनाउने पनि श्रेष्ठले औंल्याए । उनले थपे, ‘चीनले आफ्नै सिमाना मात्र देखाएको भए हुन्थ्यो । चीनले अरुणाचलको ९० हजार किलोमिटर भूभागलाई दक्षिणी चीन भनेर नक्सा निकाल्दा भारतले प्रोटेस्ट नोट नै पठाइसक्यो । तर नेपालले अहिलेसम्म केही भनेको पनि छैन, यो त भौगोलिक अखण्डतामा असर गर्ने कुरा हो । सरकार बोल्नुपर्नेमा बोलेकै छैन । हामीले नबोल्ने हो भने झन् झन् बेवास्ता गर्नेछ ।’
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१५ मा भारत र चीनको बीचमा त्रिदेशीय विन्दु लिपुलेकबाट व्यापार वाणिज्य अभिवृद्धि गर्ने सम्झौता भएपछि दुवै देशलाई ‘प्रोटेस्ट लेटर’ पठाए पनि त्यसपछि त्यसलाई कुनै सरकारले फलोअप नगरेको पनि सीमाविद् श्रेष्ठले औंल्याए । त्यतिखेर चीनको विदेश मन्त्रालयको नेपालले ऐतिहासिक प्रमण दिए त्यसमा सुधार गर्न सकिन्छ भने पनि नेपालका तर्फबाट कुनै पहल नभएको उनको जिकिर छ ।