Logo

आईओईका डीनलाई भीसी कार्यालयको पत्र, ‘सम्झौता कार्यान्वयन गर्नु’



काठमाडौं, १७ भदौ । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीनलाई पत्राचार गरि वृद्धि भएको शूल्कका सम्बन्धमा सरोकारवाला निकायसँग भएको सम्झौता कार्यान्वयन गर्न भनेको छ ।

आईओईले शूल्क वृद्धि गरेसँगै नेपाल विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनहरुले तीब्र विरोध जनाएका थिए । आईओईले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

शूल्क वृद्धिको विरोधमा नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ आमरण अनशन बसेका थिए । विद्यार्थी संगठनहरुले शूल्कवृद्धिको विरोधमा आन्दोलन चर्काउँदै लगेपछि त्रिवि उपकूलपति धर्मकान्त बास्तोला, डीनद्वय प्रा. भार्गव धिताल, प्रा.डा. डिल्लीराज शर्मा र विभिन्न विद्यार्थी संगठनबीच सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनका लागि उपकूलपतिको कार्यालले डीन कार्यालयलाई पत्र लेखेको हो ।

आईओईअन्तर्गत बृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने, विद्यार्थी प्रतिनिधिसहित गठन हुने समितिबाट सात दिन भित्रमा प्रतिवेदन पेश गर्ने र प्राप्त राय सुझावको आधारमा कायम गरिने शुल्कलाई लागू गर्न सबै पक्ष सहमत हुने, शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गरिने, आईओईका अन्य परीक्षाहरु यथावत् संचालनमा कुनै किसिमको बाधा अवरोध नगर्ने, आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता गरिने लगायतको सहमति भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्