काठमाडौं, १८ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असल मनसायले काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा विभिन्न वक्तव्यबाजी भएको भन्दै आपत्ति जनाएको छ । आज (सोमबार) जिप्रकाले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको अभिव्यक्ति खण्डन गर्दै आपत्ति जनाएको हो ।
‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुऱ्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’– सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको स्मरण गराउँदै जिप्रकाले प्रचलित कानूनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरु नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न सुरक्षा निकाय प्रतिवद्ध रहेको बताएको छ ।
सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिन सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतदेखि नै हुँदैआएको जिल्ला प्रशासन कार्यालले स्मरण गराएको छ । विदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको बताइएको छ ।
कार्यक्षेत्रमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीहरुका बारेमा कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष जानकारी हुन आएको खण्डमा प्राप्त गुनासो उपर छानबिन गरी आवश्यक निर्णय हुने जिप्रका काठमाडौंले बताएको छ।
कार्यमा अहोरात्र क्रियाशील निकाय तथा सम्बद्ध राष्ट्रसेवकलाई साथ, सहयोग र हौसला प्रदान गर्न आम नागरिकलाई जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ ।