Logo

नयाँ पुस्तालाई हसियाँ, कुटो र कोदालोबारे सिकाउँदै छौं : मेयर त्रिपाठी



काठमाडौं, २० भदौ । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थल बनाउने बताएका छन् ।
‘हाम्रो नगरपालिका आदिकवि भानुभक्त आचार्यको जन्मथलो हो । त्यसै आधारमा यसको नामकरण भएको छ । चुँदी रम्घाको डाँडोमा चार सय रोपनी जग्गा अधिग्रहण गरेर यसलाई साहित्यिक पर्यटकीय स्थल बनाउँदै छौं । अहिले एक सय रोपनी छ । पर्यटन मन्त्रालयको बजेटबाट एक सय रोपनी अधिग्रहण गर्दैछौं । १०८ फिटको सालिक बनाउने गुरुयोजना पनि छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
युवा पुस्तालाई कृषि र प्रविधिसँग जोडेर उद्यमशील बनाउने योजना पनि त्रिपाठीले सुनाए । उनले भने, ‘हाम्रो पालिकामा चुँदीफाँट, सतीघाट लगायत भित्री बाहिरी फाँट कृषियोग्य छ । दुई ठाउँमा चक्लाबन्दी अभियान सुरु गरेका छौं । खेतीलाई प्रविधिसँग जोड्ने कुरा छ । वित्तीय क्षेत्रसँग सहुलियतपूर्ण कर्जाका लागि समन्वय गरेर युवालाई उद्यमशीलतामा जोड्नका लागि सहकार्य गर्दैछौं ।’
साथै उनले नेपालमै भविष्य छ भनेर आश्वस्त तुल्याउने कार्यक्रम नल्याए युवा पलायन रोक्न नसकिने बताए । त्रिपाठीले थपे, ‘नयाँ पुस्तालाई हसियाँ, कुटो, कोदालो के हो ? थाहा छैन । अब हामी भैंसी कसरी पाल्ने ? खेत कसरी रोपिन्छ भनेर सिकाउँदै छौं । १५ बेडको पुरन्डिही हस्पिटल अपग्रेड गर्ने योजना पनि उनले सुनाए । बेला बेला ठाउँ ठाउँमा स्वास्थ्य शिविर राख्ने, स्वास्थ्य बीमा अभियान चलाउने पनि त्रिपाठीको कार्यक्रम छ ।
आफ्नो कार्यकालमा १३ वटै वडा कार्यालयसम्म कालोपत्रे गर्ने पनि उनले बताए । केन्द्रको समस्या टुंगाउनु पनि आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ । त्रिपाठीले स्थानीय तह घरमै, बाटोमै भेटिने सरकार भएको बताए ।



प्रतिक्रिया दिनुहोस्