काठमाडौं, २२ भदौ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपालका लागि चिनियाँ राजदूत छन् सोङको अभिव्यक्तिको विरोध गरेका छन् । नेपाल र भारतबीचको आर्थिक सम्बन्धको विषयमा चिनियाँ राजदूतले हालै दिएको एक सार्वजनिक अभिव्यक्तिलाई लिएर नेपालमा आलोचना भैरहेको बेलामा राउतले पनि उनको अभिव्यक्तिको विरोध गरेका हुन् ।
उनले भने–‘यो गैरकुटनीतिक अभिव्यक्ति हो । खासमा उहाँ यो हदसम्म जान नहुने हो । उहाँले आफ्नो देश र नेपालबीच कस्तो सम्बन्ध राख्ने र विस्तार गर्ने भनेर भन्न सक्नुहुन्छ । उहाँले नेपालको विकासमा कसरी योगदान दिने भनेर भन्न सक्नुहुन्थ्यो । त्यसको अलावा अरु देशसँग नेपालले कस्तो सम्बन्ध राख्ने हो भनेर उहाँले भन्न नहुने जस्तो मलाई लागिरहेको छ ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चिनियाँ राजदूतको अभिव्यक्तिको सन्दर्भमा आफूहरुले राजदूतलाई फिर्ता पठाउन भनेको सुनाए । उनले भने,‘चिनियाँ राजदूतलार्ई फिर्ता पठाउने कुरा हाम्रो मात्रै होईन, लगभग लगभग अरु पार्टीहरुले पनि खासगरी परराष्ट्र मन्त्रालयबाट पनि लगभग लगभग यस्तै किसिमका अभिव्यक्ति आईरहेका छन् । यो कुटनीतिक मर्यादाको उल्लंघन भएको हुनाले नेपालले यो निर्णय गर्नुपर्छ । नेपालले यस्तो निर्णय गरेन भने भविष्यमा यसले अलिक धेरै नै छुट भएको, नेपाललाई झन हेप्ने काम चाहीँ बढ्छ ।’
उनले चिनियाँ राजदूतले नेपाली भूमिमा बसेर भारतको विरुद्धमा अभिव्यक्ति दिनुमा सुनियोजित पनि हुनसक्ने टिप्पणी गरे ।