स्याङ्जा, भदौ २४ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन् । निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सके मात्रै विकासले गति लिने उनले बताए ।
स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिवार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य’ विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले भने– ‘विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।’
कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उनको भनाइ थियो ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरूप काम गर्न प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले समाज रूपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताए । गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताए ।
नगरप्रमुख कृष्ण खाणले वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । रासस