वालिङ (स्याङ्जा), २४ भदौ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दैै उनले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् ।
“एक दलले अर्को दललाई गाली गलौज गरेर देश बन्दैन”, मन्त्री गरुङले भने, “देश बनाउनका लागि गालीगलौज नभई मिल्नु आवश्यक छ । मुलुक बनाउनका लागि जो जहाँ छ त्यहीँबाट कर्मलाई विश्वास गर्नुपर्छ । ”
“गफ गरेर मात्र मुलुक परिवर्तन हुँदैन”, उनले जोड दिए, “मुलुकको परिवर्तनका लागि कर्म गरेर अगाडि बढ्नुपर्छ । आर्थिक क्षेत्रमा केही अप्ठ्यारा रहेकाले यसलाई नीतिगतरूपमा समाधान गरिनुपर्छ। ” राष्ट्र बैंक बैंकहरूको अभिभावक भएकाले उसले आवश्यकता र परिस्थितिबमोजिम नीतिमा पनि सुधार गर्नुपर्ने मन्त्री गुरुङले सुझाव दिए ।
गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले राष्ट्र बैंकले नियमन र अनुगमनमा कमजोरी गरेकै कारण देशमा वित्तीय अराजकता बढ्दै गएको आरोप लगाए । उनले भने, बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या सुधार गर्न पनि राष्ट्र बैंकले नियमन गर्नु आवश्यक छ ।
वालिङमा आजदेखि सञ्चालनमा आएको बैंक राष्ट्रिय वाणिज्य बैंकको २८२औँ शाखा हो । स्याङ्जामा योसँगै चार वटा यस बैंकका शाखा छन् । बैंकले भिरकोट नगरपालिकाको बयरघारीमा पनि थप शाखा विस्तार गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ ।
चापाकोट नगरपालिकाको सुन्तलीटार र साँखरमा सेवा प्रवाहका लागि काउन्टर खोल्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । रासस