Logo

हिन्दू सम्राट सेनाका कृष्णा यादवलाई थप उपचारको लागि काठमाडौं ल्याईयो



काठमाडौं, २५ भदौ । सर्लाहीको मलंगवामा रहेको हनुमान मन्दिरमा रहेका पुजारीलाई बचाउनको लागि खटिएका हिन्दू सम्राट सेनाका प्रतिनिधि कृष्णा यादवमाथि प्रहरी प्रशासनले नै हातपात र कुटपिट गरेको परिवारले आरोप लगाएको छ ।प्रहरीको आक्रमणबाट घाइते यादवलाई थप उपचारको लागि काठमाडौं ल्याईएको छ ।

उनलाई सुरुमा मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरस्थित् प्रादेशिक अस्पतालमा उपचार गराईएको थियो । तर, उनको टाउकोलगायत शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको कारण थप उपचारको लागि चिकित्सकको सुझावमै काठमाडौं हवाईमार्गबाट ल्याईएको हो ।

उनलाई अहिले काठमाडौंस्थित् राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सीमा राखेर उपचार गराईएको छ । सर्लाहीमा दुई धार्मिक समूहबीच झडप भएको हुँदा प्रशासनले एक दिन कफ्र्युसमेत लगाएको थियो ।

तर, घाईते यादवका बुवा रामगोपाल राय यादवकाअनुसार मुस्लिम समूदायको एक समूहले हनुमान मन्दिरका पुजारीलाई नै मार्ने उद्देश्यले आक्रमण गर्ने सूचना पाएपछि हिन्दू सम्राट सेनाको तर्फबाट पूजारीलाई बचाउन गएको बेलामा आफ्नो छोरामाथि प्रहरी प्रशासनले हातपात गरेको दाबी गरे । उनले आफ्नो छोरामाथि प्रहरीले राइफलको कुण्डाले नै हानेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्