काठमाडौं, २६ भदौ । इभी नेपाल मोटर्स र प्रभु बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार वुलिङ एयर इभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ ।
सम्झौता पत्रमा इभी नेपाल मोटर्सका एजीएम नवराज कोइराला र प्रभु बैंकका चिफ बिजनेस अफिसर (सीबीओ) रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।
२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर इभी नेपाली बजारमा उपलब्ध छ। यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ।
यो कारमा अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने कम्पनीको दाबी छ ।
उक्त कार काठमाडौंको नक्साल, भैंसेपाटी तथा भक्तपुरको आधिकारिक शोरुमबाट बिक्री भइरहेको छ। नेपालभर रहेका ५१ भन्दा बढी नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनबाट यो कार सजिलै तथा छिटो चार्ज गर्न मिल्ने बताइएको छ।