Logo

युवा उद्यमशीलता शिखर सम्मेलनः समन्वयको अभावले युवाका मुद्दा समाधानमा कठिनाई



काठमाडौँ, ३० भदौ । सरोकारवालाले युवाका नीति बने पनि कार्यन्वयनमा समस्या रहेकोले युवाका क्षेत्रमा काम हुन नसकेको बताएका छन् ।
राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले आज सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को ‘वर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र’ बिषयक अन्तरक्रिया कार्यक्रमले युवाका क्षेत्रमा धेरै नै नीति बने पनि कार्यन्वयनमा समस्या भएको बताइएको हो ।

राष्ट्रिय योजना आयोजका उपाध्यक्ष डा. मीनवहादुर श्रेष्ठले १६औं पञ्चवर्षीय योजना बनाइरहेको र उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताए । उनले युवाहरुलाई उपलब्ध गराउँदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकोले कर्जा रोक्नुपरेको बताए । “सहुलियतपूर्ण कर्जा गयो । तर उत्पादन र रोजगारी पनि बढेन । त्यसैले हामीले अहिले रोकेको छौ,” उनले भने ।

कार्यक्रममा उद्योग तथा बाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याएपनि कार्यन्वयनमा समस्या भएकोले युवाको मुद्दा समाधान गर्न नसकिएको बताए । उनले युवाका समस्या युवासँग बसेर छलफल गर्न सके युवाका क्षेत्रमा धेरै नै अगाडि बढ्न सकिने धारणा व्यक्त गरे ।

उनले उद्यमशील हुन तयार रहेका युवालाई सरकाले सहयोग गर्न तयार रहेको बताए । सचिव मरासिनीले स्टार्टअप सम्बन्धी कार्यविधि सबै निकायमा पुर्याइरहेको भन्दै संशोधनको हुन नसकेर कार्यविधिलाई जारी गर्न नसकेको बताए । उनले पाँच महिना हुँदा पनि कार्यविधि बन्न नसकेर युवाका क्षेत्रमा काम गर्न नसकेको बताए । उनले अन्तरनिकाय मन्त्रालयबीच समन्वय नहुँदा युवाका समस्यालाई सम्बोधन गर्न नसकिएको बताए ।

नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताए । उनले आफूहरु पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको भन्दै तर लगानी नउठ्ने कि भन्ने जोखिम रहेकाले केही बैंकहरु उद्यमशीलतामा लगानी गर्न डराएको बताए ।

“ऋण फर्कन सक्ने अवस्थामा हामी लगानी गर्दछौ । व्यापारीलाई सफल बनाउने के गर्न सकिन्छ त्यो गर्न हामी तयार रहेका छौ,” उनले भने ।
उनले जनयुद्ध, भुकम्प र कोरोना भाइरसले गर्दा बैंकलाई समस्या परेको भन्दै उद्यमका अगाडि बढ्न चाहने युवालाई बैंकले सहयोग गर्न तयार रहेको बताए ।

नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले अहिलेका युवा धेरै क्रियटिभ रहेको भन्दै नीति नियमको परिमार्जन गरेर युवालाई उद्यमशीलता बनाउन आवश्यक रहेको बताईन् । उनले सरकारले युवाका लागि ल्याइएको योजनामा राजनीतिकरण भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताईन् ।

कार्यक्रममा उद्योगी पवन गोल्यानले स्थानीय तहसँग मिलेर युवालाई उद्यमशीलता बनाउनुपर्ने बताए । “किसानले दुःख गरेर उत्पादन गर्दछ । तर, बेच्न सक्दैनन् । किसानले उत्पादन गरेको खाद्यबस्तुलाई वेच्ने वातावरण सरकारले बनाइदिनुपर्दछ ,”उनले भने ।

उनले सरकारले उद्योग खोल्नका लागि अप्यारो पार्न नहुने भन्दै बैंकले फाइदाको निश्चित प्रतिशत कृषिमा लगानी गर्नुपर्ने बताए । उनले सवै नेपालीले नेपालमा उत्पादन गरेको खानेकुरा खानुपर्ने बताए । रिटर्नी माइग्रेशनका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, युवा शंकर उपाध्याय, मानबहादुर धनहामगर, तीर्थराज ढुंगेल, नारायण गिरी, आरती शर्मा लगायतले युवालाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्