काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।
“मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ थियो ।
विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको बताए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे ।
सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताए । “कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलिराखेको छ भइहाल्यो”, उनले भने, “मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।”
सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो । “इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ”, उनले भने ।
पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनको आरोप छ । अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उनले बताए । विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनको तर्क थियो ।